समन्वयसहित रचनात्मक ढङ्गले काम गर्न मन्त्रीहरूलाई प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको लक्ष्य हासिल गर्ने कामलाई समन्वयसहित रचनात्मक ढङ्गले पूरा गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज आयोजित कार्यसम्पादन सम्झौता कार्यक्रममा प्रधानमन्त्री ओलीले के गर्ने, के हासिल गर्ने भन्ने थाहा नभईकन कार्यालय आउने र जाने प्रथालाई अन्त्य गर्दै विगतमा आफू प्रधानमन्त्री हुँदा यस प्रकारको पद्धति बसालेको बताए ।
‘हामी टिम स्पिरिटमा काम गर्छाैँ, एकअर्कालाई सहयोग गछौँ । लोकतन्त्रका र जनताका हित गर्दै सुशासन र सुरक्षा कायम गर्न प्रतिबद्ध छौँ भन्ने यी सम्झौतामा समावेश गरिएका छन् ।
हामीले यस बमोजिम थप दृढताका साथ काम गर्नुपर्ने छ’, प्रधानमन्त्री ओलीले भने । उनले पूर्वमन्त्रीहरुसँगका काम लाग्ने अनुभवबाट पनि सिक्ने र सम्झौतामा नभएका तर देशका लागि गर्नुपर्ने देखिएका काम गर्न मन्त्रीहरूलाई आग्रह गरे ।