ओलीले जनयुद्धलाई हिंसा भन्नु कृतघ्नताको पराकाष्ठा : माओवादी केन्द्र

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसा भन्नु संविधान विपरीत भएको प्रतिक्रिया दिएको छ ।
बुधवार पार्टीको अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त बैठकमा माओवादीका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले जनयुद्धलाई हिंसा भन्नु संविधान विपरीत भएको बताएका हुन् ।
प्रधानमन्त्रीले वृहत् शान्ति सम्झौताको विपरीत बोलेको माओवादीका प्रवक्ता तथा उपाध्यक्ष अग्निप्रसाद सापकोटाले बताए ।
उनले नेकपा हुँदा दस्ताबेजमै जनयुद्धलाई सशस्त्र सङ्घर्ष लेखिएको भन्दै सो कुरा बिर्सिएर जनयुद्धलाई हिंसा भन्नुमा बदनियत रहेको बताए ।
प्रवक्ता सापकोटाले सरकारको गतिविधिका कारण यो सरकार दलाल पुँजीपति, बिचौलिया र माफियाहरूको पक्षमा छ भन्ने स्पष्ट भएको बताए ।
प्रवक्ता सापकोटाको भनाई जस्ताको तस्तै
‘उहाँ देशको प्रधानमन्त्री हो । एउटा पार्टीको अध्यक्ष पनि हो । त्यो कुरा बोल्नु सरासर संविधान विपरीत छ । सहमति विपरीत छ । संविधानमा सशस्त्र सङ्घर्ष भनिएको छ । वृहत् शान्ति सम्झौतामा पनि सशस्त्र सङ्घर्ष भनिएको छ । बाह्र बुँदे समझदारीको विरुद्धमा बोल्नुभएको छ । बृहत् शान्ति सम्झौताको पनि विरुद्धमा बोल्नुभएको छ । नेकपा हुँदा पनि सशस्त्र सङ्घर्ष भनिएको थियो । यी सबै कुराले आफैँ सहमत भएको कुरामा फेरि त्यसो भन्नु सरासर बदनीयतपूर्ण छ । अनैतिक छ । र संविधानको विपरीत छ । हिजोको सहमति विपरीत छ । जनयुद्ध बिना गणतन्त्र यो धर्तीमा असम्भव थियो । त्यही गणतन्त्र ल्याएर अहिले तीन पटकसम्म प्रधानमन्त्री हुनुभएको छ । यस अर्थमा त्यो भन्दा कृतघ्नताको पराकाष्ठा केही होइन । त्यस कारण उहाँहरू पछाडि फर्किन चाहनुहुन्छ । अग्रगमनतिर होइन । परिवर्तनतिर होइन । यो बोल्नु सर्वथा गलत छ ।’








