भ्रष्टाचार र सुशासनका कुरा गर्ने प्रचण्डलाई सांसदको प्रश्न : सुनकाण्ड कहाँ गयो ? कति जना जेलमा छन् ?

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य आनन्दप्रसाद ढुंगानाले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
मंगलवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सो आपत्ति जनाएका हुन् । उनले पूर्वप्रधानमन्त्री जस्तो व्यक्तिले देश श्रीलंका र बंगलादेश बन्छ भन्दै अभिव्यक्ति दिन नमिल्ने बताए ।
आफू सत्तामा रहुन्जेल सही र अर्को व्यक्ति सत्तामा जाने बित्तिकै गलत नहुने उनले बताए । पदका लागि यताउति गरिरहने अस्थिरताका कारण देश अफ्ठ्यारोमा परेको आवश्यकताले अहिलेको गठबन्धन बनेको ढुंगानाले बताए । अहिलेको गठबन्धन रातमा कहाँ गर्यो ? भन्ने अभिव्यक्ति दिएको भन्दै अध्यक्ष दाहाललाई मार्सी चामलको भात खाएर गरिएको गठबन्धन बिर्सिनु भयो भन्दै प्रश्न गरे ।
उनले भने, ‘एउटा पूर्वप्रधानमन्त्री जस्तो मान्छेले यो देश बंगलादेश हुन्छ, यो देश श्रीलंका हुन्छ, भन्न पाउने हो । साँच्चै नै भन्ने हो गठबन्धनको निर्वाचन भइसकेपछि के भनेर जनतासँग भोट मागेको थियौँ । के भनेर जनतालाई भोट मागेका थियौँ । संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्यो, यसलाई बचाउनका लागि मत दिनुस्, त्यो मत दिएकाले संविधान, संघीयता बचाउँछ भनेको होइन । तर त्यसपछि हामी प्रतिवद्ध भयौँ त ? भएनौँ । हामी पदका लागि कहिले यता, उता गरिरह्यौँ । आफू पदमा रहुन्जेल राम्रो अरु पदमा गएर व्यवस्थापन गर्दा खराब हुने रु नेपाली काँग्रेसले रहरले गठबन्धन गरेको होइन । नेपाली काँग्रेसले परिस्थितिवश यो देशको अवस्था कमजोर भयो, देशको प्रधानमन्त्री बन्न मान्छे यताउति गर्न थाले, जनतामा अविश्वास बढ्यो, विकास भएन भनेर हामीले एमालेसँग गरेकै हो । हामीले गठबन्धन गर्दा रातमा कहाँ गर्यो रे ? १२ बजे कहाँ पुग्यो रे । ए मार्सी चामलको भात बिर्सिनु भयो ? मार्सी चामलको खाएको भात बिर्सिनु भयो तपाईंहरुले रु त्यसैले कसैले गाली गर्दा आफ्नो अनुहार पनि ऐनामा हेर्नुपर्छ ।’
उनले भ्रष्टाचार र सुशासनका कुरा गर्ने गरेको भन्दै सुनकाण्ड कहाँ गयो ? कति जना जेलमा छन् भन्दै प्रश्न गरे । उनले नेताहरुकै कारणबाट यो देश यहाँसम्म आइपुगेको बताउनु भयो । स्थिरताका लागि अहिलेको सरकार आवश्यक रहेको बताए ।








