तारा एअरले पोखरा-जोमसोम उडान सुरु गर्दै

रामेछाप-लुक्ला उडान असोज ४ देखी

काठमाडौं । तारा एअरले पोखरा-जोमसोमको नियमित उडान मंगलबारबाट गर्ने भएको छ । प्रतिकुल मौसम संगै बन्द भएकामा पर्यटक सिजन सुरु हुनुका साथै मौसम पनि खुल्ने समय सुरु भएकोले उडान नियमित हुन लागेको हो ।

जोमसोम को नियमित उडानका लागि तारा एअरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालकालागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाईएको छ । तारा एअरको उडान पोखराको पुरानो एअरपोर्ट बाटै सञ्चालन हुनेछ ।

मुस्ताङ जिल्लामा अवस्थित जोमसोम बिमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाईमा रहेको छ भने यस एअरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ ।

यसैगरी पर्यटक सिजनका लागि तारा एअरले रामेछाप-लुक्ला-रामेछापका लागि असोज ४ अर्थात सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

सगरमाथा क्षेत्रमा जाने पर्यटकहरुका लागि विभिन्न वायुसेवा कम्पनिहरुले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन् ।

यो सिजनका लागि तारा एअरको २ वटा ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ फ्लाईट गर्ने तालिका राखेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् ।

रामेछाप विमानस्थलमा ताराका दुईवटै विमानले रात्री बिसान गरि डिसेम्बर १५ सम्म नियमित उडान गर्ने तालिका रहेको जानकारी तारा एअरले दिएको छ ।

ताराले रामेछाप देखी लुक्लाको साथै काठमाडौं देखी लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पा लगायतका दुर्गम क्षेत्रमा समेत उडान सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =