ओली र देउवाविरुद्ध नाराबाजी गर्ने तीन जना धरौटीमा रिहा

काठमाडौं । काठमाडौंको टुँडिखेलमा आयोजित गौरा पर्वमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी गर्ने तीन जना युवाहरू धरौटीमा रिहा भएका छन् ।
संस्कृति तथा सार्वजनिक शान्ती बिथोल्न खोजेको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एसपी नवराज अधिकारीले जानकारी दिए।
कन्चनपुरका दीपक सिंह ठगुन्ना,अछामका रामबहादुर बुढा र सुर्खेतका गोपिकृष्ण जैसी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा धरौटी बुझाएर शुक्रवार रिहा भएका हुन् ।
उनीहरु ९/९ हजार धरौटी रकम बुझाएर रिहा भएका जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता माधव प्रसाद ढुंगानाले मकालुखबरलाई बताए ।
गत सोमबार टुँडिखेलमा गौरा पर्वका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा बोल्दा युवाहरुले नाराबाजी र होहल्ला गरेका थिए । सोही विषयलाई लिएर प्रहरीले तीन जना युवकलाई नियन्त्रणमा लिएको थियो ।








