कांग्रेस र एमाले सहकार्यबारे भ्रम फैल्याउनु नै कतिपयको पेसा बनेको छ : सांसद दाहाल

काठमाडौँ । राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले आम जनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न वर्तमान सरकार बनेको बताएका छन् ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दलको समीकरण फेरिएर नयाँ सरकार बन्नुलाई नौलो विषयका रुपमा लिन नहुने बताए । उनले दुई ठूला राजनीतिक दलहरू मिलेर शान्ति र स्थायित्वका लागि बनाएको सरकारप्रति आत्तिनुपर्ने कुनै कारण नरहेको बताए ।

उनले काँग्रेस र एमाले सहकार्यका विषय र सन्दर्भलाई लिएर टिकाटिप्पणी गर्नु, नकारात्मक सन्देश प्रवाह गर्नु, कतिपय व्यक्तिको पेसा र धर्म बनेको बताए । उनले पहिलो ठूलो राजनीतिक दल नेपाली काँग्रेस र दोस्रो दल नेकपा एमालेको बीचमा सहमति भई सरकार बन्नु देशको परिस्थितिकीय आवश्यकताको विषय बनेको बताए ।

उनले भने ‘राजनीतिक दलको समीकरण फेरियो, नेकपा एमाले र नेपाली काँग्रेसको बीच साझा सहमति भयो, सरकार बन्यो । साझा सहमति भएको यो अवस्था वस्तुगत कारणले पनि आएको हो । कुनै अचम्म मान्नुपर्ने, आत्तिनुपर्ने केके न हुन लाग्यो भन्ने अवस्था छैन । विगतका पनि यस्ता समीकरण भएको इतिहास छ । थिए । भविष्यमा पनि नहोला भन्न सकिँदैन । यो सहकार्यका विषय र सन्दर्भलाई लिएर टिकाटिप्पणी गर्नु, नकारात्मक सन्देश प्रवाह गर्नु, कतिपय व्यक्तिको पेसा र धर्म बनेको देखिन्छ । मूल प्रश्न के हो भने पहिलो ठूलो राजनीतिक दल नेपाली काँग्रेस र दोस्रो दल नेकपा एमालेको बीचमा सहमति भयो र सरकार बन्यो भन्ने विषय महत्वपूर्ण छन् । यी दुई दलबीच सात बुँदे साझा सहमति पनि भएको छ । आम जनताको चाहना बमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न राष्ट्रको विकास निर्माणमा तीव्रता दिन, आधा अधुरा आयोजना पूरा गर्न र राजनीतिक स्थिरता कायम गर्नको लागि यो सरकार बनेको हो ।’

सांसद दाहालले संविधान संशोधनको विषय उठाउनु नौलो नभएको भन्दै राष्ट्रिय सहमतिबाटै संविधान संशोधन हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =