सरकारले ‘नेपाल हेल्थ समिट’ आयोजना गर्ने

काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउनका लागि अल्पकालीन र दीर्घकालीन योजना बनाउन सरकारले स्वास्थ्य क्षेत्रमा विश्वभर क्रियाशील नेपाली विज्ञहरूका सहभागितामा ‘नेपाल हेल्थ समिट’ आयोजना गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज यससम्बन्धी निर्णय गरेका हुन । गत साउन २७ गते उनले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा ‘नेपाल बाहिर विभिन्न देशमा विज्ञता र अनुभव हासिल गरिरहेका स्वास्थ्य जनशक्तिको सीप र दक्षतालाई नेपालको स्वास्थ्य सेवा प्रणालीसँग आबद्ध गर्न आवश्यक प्रबन्ध गरिने’ उल्लेख थियो ।

विश्वभरका नेपाली चिकित्सक, अनुसन्धानकर्ता, प्राज्ञिक व्यक्तित्व तथा नर्सहरुको सीप र दक्षतालाई देशको स्वास्थ्य सुधारमा उपयोग गर्न आवश्यक सुझाव लिनका लागि सम्मेलन गर्न लागिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

समिटमा सहभागी नेपाली विज्ञबाट प्राप्त सुझावका आधारमा मन्त्रालयको लक्ष्यअनुसार स्वास्थ्य क्षेत्रमा सुधारको कार्ययोजना तयार पारिने उनले बताए । मन्त्रालयले यसका लागि आवश्यक तयारी गर्न डा. प्रकाश थपलियाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा स्वास्थ्य विज्ञ डा. शम्भु आचार्यसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सङ्क्रामक रोग विशेषज्ञ डा. जनक कोइराला तथा धुलिखेल अस्पतालका डा. विराज कर्माचार्य सदस्य छन् ।

यसैगरी विज्ञहरु डा. रुना झा, डा. अर्चना अमात्य, वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गाना र प्रमुख जनस्वास्थ्य प्रशासक डा. भीमप्रसाद सापकोटा र नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिलाई सदस्य तोकिएको छ ।

कार्यदलको सुझावका आधारमा मन्त्रालयले सम्मेलनको मिति तथा आवश्यक कार्यढाँचा तय गर्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =