राष्ट्रपति पौडेल र ओमानका विदेशमन्त्री अल्बुसइदीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र ओमानका विदेशमन्त्री सैयद बद्र बिन हमाद बिन हमुद अल्बुसइदीले शिष्टचार भेटवार्ता भएको छ ।

नेपालको दुई दिने औपचारिक भ्रमणका क्रममा सोमबार नेपाल आएका विदेशमन्त्री अल्बुसइदी र राष्ट्रपति पौडेलबीच मंगलबार भेटवार्ता भएको हो ।

भेटका क्रममा नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकको सूचीबाट स्तरोन्नति भइ सन् २०३० सम्म मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले त्यसका लागि ओमनबाट सहयोगको अपेक्षा गरिएको बताए ।

नेपाल र ओमानको परराष्ट्र नीतिमा धेरै समानता रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले दुई देशबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहयोग अभिवृद्धि गर्ने राम्रो सम्भावना रहेको बताए ।

राष्ट्रपति पौडेलले ओमानमा काम गर्ने नेपालीहरूको सङ्ख्या बढ्दै गएको अवस्थामा काठमाडौँमा ओमानको राजदूतावास स्थापना गर्नु दुवै देशका लागि उपयुक्त हुने उल्लेख गरे ।

त्यस्तै उनले दुई देशबीचको प्रत्यक्ष हवाई सम्पर्कले व्यापार सहजीकरण, पर्यटन प्रवद्र्धन र जनस्तरमा सम्बन्ध बढाउनका लागि मद्दत मिल्ने धारणा व्यक्त गरे ।

सो भेटमा ओमनका विदेशमन्त्री अल्बुसइदीले भ्रमणका क्रममा नेपाल सरकारसँग दुई पक्षीय सम्बन्धका विविध आयाममा छलफल भएको जानकारी गराउँदै ओमानले खुल्ला हृदयले नेपालसँग सम्बन्धलाई थप सुमधुर बनाउन चाहेको बताए ।

विदेशमन्त्री अल्बुसइदीले नेपालमा ओमानको दूतावास खोल्ने र दुई देशबीच सिधा हवाई सम्पर्क स्थापित गर्ने सन्दर्भमा आफ्नो सरकार सकारात्मक रहेको उल्लेख गर्दै शान्त, सौम्य र कडा परिश्रम गर्ने नेपालीहरूले ओमानको विकासमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 20 =