खुल्ला भजन चुड्कामा देवीस्थान भजन समूह पहिलो

गण्डकी । श्रीकृष्ण जन्माष्टमीका अवसरमा राधाकृष्ण सांस्कृतिक समूह, पोखरा –३२ द्वारा आयोजित नवौँ श्रीकृष्ण जन्माष्टमी महोत्सव एवं खुल्ला भजन चुड्का प्रतियोगितामा देवीस्थान भजन समूह, हेमजा पहिलो भएको छ ।

प्रतियोगितामा मुक्तेश्वर लोक खैंजेडी भजन समूह टोखा काठमाडौँ द्वितीय, ओमकार भजन समूह फूलबारी पोखरा तृतीय र पञ्चासे भजन समूह सान्त्वना बनेका छन् ।

प्रतियोगितामा उत्कृष्ट बाद्यबादनमा शिशुुवा भजन समूह, उत्कृष्ट भेषभुषामा मातृकेश्वर भजन समूह, हेमजा र उत्कृष्ट स्वरतर्फ शुक्ला हिलेटार शिवालय भजन समूह विजयी भएका छन् ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु ५० हजार, रु ३० हजार, रु २० हजार र रु १० हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

त्यस्तै उत्कृष्ट बाद्यबादन र उत्कृष्ट भेषभुषा बापत रु पाँचरपाँच हजार र उत्कृष्ट स्वर वापत रु तीन हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा १३ वटा समूहले भाग लिएका थिए भने प्रतियोगिताभन्दा बाहिरबाट विभिन्न जातजातिका पाँचवटा प्रस्तुति गरिएको थियो ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् पूर्वगृह मन्त्री खगराज अधिकारीले हाम्रा मौलिक संस्कृतिहरूको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

राधाकृष्ण मन्दिर परिसर नजिकै भैरहेको महानगरको फोहोर विसर्जनप्रति लक्षित गर्दै उहाँले पावन भूमिको नजिक फोहोर व्यवस्थापन गर्न नहुने बताए ।

राधाकृष्ण मन्दिर र यस क्षेत्रलाई आश्रमस्थल, विद्याश्रम मात्र नभै अनुसन्धानको केन्द्र बनाउनुपर्नेमा उनले जोड दिए । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का विखर्चीले गर्ग ऋषिको तपोभूमिका रुपमा रहेको यस क्षेत्रको संरक्षणसँगै विकास गर्नुपर्नेमा जोड दिए ।

नेपाल रेडक्रस सोसाइटी पोखरा महानगरपालिका वडा नम्बर ३२ का सभापति एवं गगनकालिका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किसान परियारले राधाकृष्ण मन्दिर परिसर नजिकै फाल्ने गरिएको फोहोरका कारण मन्दिर, आश्रम, गुरुकुलसँगै यस क्षेत्र प्रदुषित भइरहेको बताउँदै यसतर्फ राज्यको ध्यान तत्काल पुग्नु जरुरी रहेको बताए । उनले यस क्षेत्रका सबै प्रभावितलाई तत्कालै नि:शुल्क स्वास्थ्य बिमामा समेट्न आग्रह समेत गरे ।

प्राचीन संस्कार र संस्कृतिको जगेर्नाको उद्देश्यका साथ समूहले यस किसिमका कार्यक्रमलाई प्राथमिकतामा राखेको समूहका अध्यक्ष सञ्जयराज ढकालले बताए ।

कार्यक्रममा समूहमा विशिष्ट योगदान पुर्‍याएको भन्दै छविलाल दहाल, पार्वती लामिछाने र प्रकाशचन्द्र वाग्लेलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =