कृषिमन्त्रीको दाबी– दुग्ध र उखु किसानलाई दशैँअघि भुक्तानी दिन्छौं

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारले सरकारले दुध र उखु किसानको रकम दशैँअघि भुक्तानि दिने बताएका छन् ।
आईतवार मन्त्रालयमा पत्रकारसँग भेटघाटमा मन्त्री अधिकारीले किसानको ११ महिनादेखि बाँकी रहेको दुधको रकम भुक्तानि एक महिनाभित्र दशैँअघि गर्ने तयारी रहेको बताएका हुन् ।
उनले उक्त रकम भुक्तानीको लागि दुग्ध विकास संस्थान (डीडीसी)लाई ६० करोड रुपैयाँ उपलब्ध गराउने योजना रहेको बताए । मन्त्री अधिकारीले दुग्ध किसानलाई १ अर्ब ३६ करोड रुपैयाँ तिर्न बाँकी रहेको बताए ।
उनले दुग्ध किसानहरुको भुक्तानीको दीर्घकालिन समाधानको विषयमा पनि सरकारले योजना बनाइरहेको बताए । उनले सरकारले किसानसँग उधारो दुध किन्ने र नगदमा बेचेर किसानलाई पैसा नदिने समस्या समाधान गरिने बताए ।
उनले उखु किसानलाई १ अर्ब ३० करोड रकम उपलब्ध गराउन बाँकी रहेको भन्दै उक्त रकम पनि दशैँअघि उपलब्ध गराउन मन्त्रालयले काम थालनी गरेको बताए ।
उनले सरकारले तरकारी लगायत अन्य कृषिजन्य उत्पादनमा विषादीको प्रयोग न्युनिकरण गर्ने बताए । उनले तरकारीमा विषादीको प्रयोग नियन्त्रण गर्न जरुरी रहेको बताए ।
उनले कृषि मन्त्रालयको जिम्मा लिएपछि गलत गर्ने छुट नभएको भन्दै कृषि क्षेत्र सुधार गरेर देखाउने बताए । उनले त्यसको लागि मन्त्रालयगत रुपमा समन्वय गरी कृषि क्षेत्रमा देखिएका समस्या मसाधान गर्दै लैजाने प्रतिवद्धता जनाए ।








