लैङ्गिक समानताका लागि पुरुषको सहकार्य जरुरी

काठमाडौं । पुरुषको सकारात्मक सहकार्यबाटै लैङ्गिक समानता कायम गर्न सकिनेमा अधिकारकर्मीहरुले जोड दिएका छन् । शुक्रवार यहाँस्थित अष्ट्रेलियन दूतावासमा अस्ट्रेलिया अवार्डसले आयोजना गरेको ‘लैङ्गिक समानताका लागि पुरुषको सहयोगः अनुभव र अन्तरदृष्टि’ विषयक अन्तरक्रियामा अधिकारकर्मीहरुले पुरुषको सकारात्मक भूमिकाले समानता कायम गर्न सकिने बताएका हुन् ।

लैङ्गिक समानताका लागि पुरुष सहकार्य र सहभागिता अपरिहार्य रहेको दुतावासका विकास प्रमुख कविता कस्यनाथनले बताए । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा देखिएको लैङ्गिक समानताको अवस्था चर्चा गर्दै समाजमा भएका असमानता हटाउन पुरुषको साथ र सहकार्य आवश्यक रहेको उल्लेख गरे । “अधिकांश महिला सफल हुनुमा पुरुषको साथ देखिन्छ”, उनले भने, “चाहे त्यो घर होस् या राजनीतिक तहमा होस् पुरुषको साथ जरुरी छ ।”

वन तथा वातावरण मन्त्रालयका सहसचिव डा. सिन्धुप्रसाद ढुङ्गानाले महिलामाथि विभेद छ भन्ने यथार्थ स्वीकार गरेर मात्रै समाधान खोज्न सम्भव हुने बताए । महिलाका समस्या गम्भीर भई सुनेर र मनन गर्ने संस्कृतिको विकास गर्न आवश्यक रहेको रहेको उनको भनाई थियो ।

लैङ्गिक समानताबारे नकारात्मक धारणालाई चिर्दै समाज रुपान्तरणमा सबै सरोकारवाला पक्षको दायित्व हुने जलवायु विशेषज्ञ विद्यादेवी गुरुङले बताइन् । गेट कलेजका प्रमुख खेम लकाइले समानतासम्बन्धी चेतनाको विकास गर्न सके विस्तारै नतिजा देखिने बताए ।

समाजमा असमानता हटाउन प्रत्येक व्यक्तिले आत्मसाथ गर्दै आफूबाटै परिवर्तनको सुरुवात गर्नुपर्ने महिला अधिकारकर्मी निर्मला महर्जनले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 4 =