डोलेश्वरमा ३८ दिने मेला सम्पन्न,चार लाख बढी भक्तजनबाट दर्शन
८५ लाख सङ्कलन

भक्तपुर । केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा बिहीबारदेखि ३८ दिने श्रावणाी मेला सम्पन्न भएको छ । साउन १ गतेदेखि सुरु भएको मेला आज समापन भएको हो ।
सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर भाग घोषणा गरिएको दिन मन्दिरका चारै ढोका खुलागरी दर्शनार्थीले मन्दिरभित्र प्रवेशगरी डोलेश्वरको शिलामा स्पर्श गरेरै पूजा गर्न पाउने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए ।
आज बिहान ४ बजेदेखि मन्दिरको चारवटै ढोका खुलागरी दर्शनको व्यवस्था गरिएकोमा आज १५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेको मन्दिरमा बताउँदै उनले यस मन्दिरमा महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते गरी वर्षमा तीन दिन मात्रै मन्दिरको चारै ढोका खुला गरेर दर्शनार्थीलाई मन्दिरभित्र पसेर शिला छोएर पूजा गर्ने व्यवस्था गरेको बताए ।
समितिका महासचिव हरिशरण बस्नेतले साउने मेलामा नेपाल, भारतलगायत देशका भक्तजनको आगमन भएको भन्दै भारतीय भक्तजनको उपस्थिति हरेक वर्ष बढ्दै गएको बताए । श्रावणी मेला अवधिभर डोलेश्वरमा चार लाख भक्तजनको आगमन भएको जानकारी दिँदै उहाँले ३८ दिने साउनको चार सोमबारमा दैनिक ५० हजारभन्दा बढी भक्तजनको आगमन भएको जानकारी दिए ।
श्रावणी मेलाको अवधिभर मन्दिर आउने भक्तजनबाट दानस्वरुप ८५ लाख ४७ हजार रुपैयाँ सङ्कलन भएको समितिका सचिव कविराम थापाले बताए । त्यसमध्ये, ४५ लाख २० हजार रुपैयाँ भक्तजनहरूले रसिद काटेर सहयोग गरेको र ४० लाख २७ हजार रुपैयाँ मठ तथा मूर्तिमा चढाइएकोबाट संकलन भएको उनले बताए । यस अवधिमा पण्डाल निर्माण, खाना आदिमा १२ लाख ३६ हजार रुपैयाँ खर्च भएको छ ।
मेला समापन कार्यक्रममा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले ३८ दिनसम्म चलेको मेला शान्तिपूर्ण रुपमा सम्पन्न भएको र कुनै झगडा एवं विवादविना नै सम्पन्न भएको बताइन् ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक मन्दिर नगरपालिका मात्रै नभएर देश तथा विदेशका पनि हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र रहेको बताए । धार्मिक तथा पर्यटकीय रुपमा पनि महत्त्व बोकेको मन्दिरको स्थापना दिवसका अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने गरेको नगरप्रमुख थापाले बताए ।
मेलाले मन्दिर नजिक बस्ने नगरवासीको स्थानीय उत्पादनको बजारीकरणमा सहयोग गरी आर्थिक विकासमा मद्दत पुर्याएको नगर उपप्रमुख सरिता तिमल्सिना भट्टराईले बताइन् ।
स्वयंसेवक, स्वास्थ्यकर्मी साथै सबैको सहयोगले नै मेला सम्पन्न भएको भन्दै मेलाकै अवसरमा आयोजित रक्तदान शिविरमा पाँच सय जनाभन्दा धेरैले रक्तदान गरेको वडाध्यक्ष पुष्पराज बस्नेतले बताए ।








