नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सिएनआईवाईइएफ) को अध्यक्षमा आशिष अग्रवाल चयन भएका छन् । मञ्चको वार्षिक साधारण सभाले सन् २०२४/२०२५ का लागि अग्रवालको अध्यक्षतामा बिहीबार नयाँ कार्यसमिति गठन गरिएको हो ।

कार्यसमितिको लर्निङ चेयरमा मनिष श्रेष्ठ, मेम्बर इन्टीग्रेसन चेयरमा सुगम घिमिरे, मेम्बरसिप चेयरमा निदा दुन मल्ल,फाइनान्स चेयरमा पुनित अग्रवाल,नेटवर्क एण्ड कम्यूनिकेसन चेयरमा अंकुर अग्रवाल चयन भएका छन् ।

यस्तै ग्रोथ एण्ड एक्सपान्सन चेयरमा चिराग सरावागी चयन हुँदा साइनी खेतान स्टार्टअप चेयरमा निर्वाचित भएका छन् । यसअघि नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्ष अनुराग गोयल रहेका थिए ।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नयाँ पदाधिकारीलाई बधाई तथा शुभकामना दिँदै युवासँग सम्बन्धित विषयमा अनुसन्धानमा आधारित भएर सरकार तथा नियामकीय निकायहरुलाई नीतिगत सुझाव दिन मञ्चलाई आग्रह गरे ।

देशमा रोजगारी बढाउन,औद्योगिकरणको विकास गर्दै समग्र आर्थिक विकासका लागि युवा उद्यमीहरुलाई प्रोत्साहन गरिनुपर्नेमा जोड दिँदै उनले यसमा काम गर्न नयाँ टिमलाई सुझाव दिए ।

मञ्चका निवर्तमान अध्यक्ष गोयलले नयाँ टिमले संस्थालाई नयाँ उचाइमा पुर्याउने गरी काम गर्नेमा आफु विश्वस्त रहेको बताए । नवनिर्वाचित अध्यक्ष अग्रवालले स्टार्ट–अप र युवा उद्यमीहरुलाई प्रोत्साहनको खाँचो रहेको चर्चा गर्दै देशमै केही गर्ने इच्छा भएका युवाहरुलाई प्रोत्साहन गर्ने खालका गतिविधि सञ्चालन गरिने बताए ।

व्यवसाय क्षेत्रमा सन् २०१३ देखि आवद्ध अग्रवाल टौरस फर्माका निर्देशक समेत हुन् । उनी सन् २०१९ देखि मञ्चमा सक्रिय छन् ।

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको परिसंघको युवा संगठन हो । मञ्चले युवा उद्यमीहरुलाई प्रोत्साहन, प्रवर्द्धन गर्ने कार्यलाई प्राथमिकतामा राख्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 9 =