शुक्लाफाँटामा एक हजार चार सय २५ बिघा जग्गा नापजाँच

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका अव्यवस्थित बसोवासीलाई जग्गाको स्वामित्व प्रदान गर्न एक हजार नौ सय ३० दशमलव ९८ हेक्टर (एक हजार चार सय २५ बिघा) जग्गा नापजाँच गरिएको छ ।

नगरको १, २, ३, ९ र १२ नम्बर वडामा जग्गा नापजाँच गरिएको भूमि सेवा केन्द्रका प्रमुख मोहन फुलाराले बताए । वडा नम्बर १ मा दुई हजार आठ सय ५० कित्ता जग्गाको तीन सय ५० दशमलव ५८ हेक्टर (पाँच सय १८ बिघा) नापजाँच गरिएको छ ।

वडा नम्बर २ मा एक हजार पाँच सय ५० कित्ता जग्गाको एक सय ९४ दशमलव ८३ हेक्टर (दुई सय ८७ विघा), वडा नम्बर ३ को छ सय ४० कित्ता जग्गाको ९४ दशमलव ३१ हेक्टर (एक सय ३९ विघा), वडा नम्बर ९ को एक हजार एक सय कित्ताको एक सय २६ दशमलव ७७ हेक्टर (एक सय ८७ बिघा) र वडा नम्बर १२ को दुई हजार एक सय ७६ कित्ताको एक सय ९९ हेक्टर (दुई सय ९४ बिघा) जग्गा नापजाँच गरिएको छ ।
वडा नम्बर ५ मा अपूरो जग्गा नापजाँच पूरा गरी ८३ परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिएको शाखा प्रमुख फुलाराले बताए । आयोगले नापजाँच स्थगित गर्दा केही महिनादेखि नापजाँच हुन नसकेको उनले जानकारी दिए ।

विगतमा भूमि आयोगबाट भएका अधुरा जग्गा सम्बन्धी कामको ‘फिल्ड भेरिफिकेसन’ केही पूरा भएको बताउँदै उनले भने,“केही अझै हुन बाँकी छ, नयाँ आयोग गठन भई कार्य सञ्चालन भएमा जग्गा नापजाँचसँगै अधुरा काम पनि अगाडि बढाउछौँ ।”

नगरपालिकाका १२ वटै वडाका ११ हजार चार सय ८९ अव्यवस्थित बसोबासीले जग्गा नापजाँचका लागि निवेदन दिएका छन् । बसोबासका लागि निवेदन दिनेमा भूमिहीन दलित एक सय ९३ र भूमिहीन सुकुम्वासी एक सय ५४ रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =