नो इफ, नो बट, हाम्रो कुरा क्लियर कट, भ्रष्टाचारमा हदम्याद मान्दैनौं : लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सभापति लामिछानेले भ्रष्टाचारको मुद्दामा कुनैपनि किसिमको हदम्याद राख्नु नहुने बताएका हुन् ।

उनले आफ्नो पार्टी भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु नहुने पक्षमा स्पष्ट रुपमा उभिने बताए ।

उनले नीतिगत निर्णय भनि मन्त्रिपरिषद्बाट निर्णय गराएर भ्रष्टाचार हुने गरेको भन्दै त्यसरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने क्रम रोकिनुपर्ने बताए । उनले नीतिगत निर्णयको परिभाषा गरिनुपर्ने बताए ।

‘भ्रष्टाचारको मुद्दामा कुनैपनि किसिमको हदम्याद राखिनु हुँदैन । हामी यसमा स्पष्ट छौँ । र सिंगो सदन यो ठाउँमा उभिने छ भन्ने विश्वास गराउन चाहान्छु । नीतिगत भ्रष्टाचारको निर्णय गरेर मन्त्रिपरिषद् लाने कुरालाई गम्भीर रुपले हेरिएको छ,’उनले भने,‘यसलाई अख्तियारले पनि ध्यान दिएको छ । यसलाई परिभाषित गर्ने पनि गरेको छ । त्यसबारे म ध्यान गराउँछु । नीतिगत भनेर मन्त्रिपरिषद् लगेर त्यस्ता निर्णय गराउने क्रम रोकिनुपर्छ । त्यसको परिभाषा हुनुपर्छ ।’

सभापति लामिछानेले दुई हप्तादेखि राज्यका विभिन्न तहमा दलितको सहभागिताको माग गर्दै माईतीघरमा आन्दोलन गर्दै आएका अभियन्ता खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाए ।

उनले दलितहरुले आफ्नो हक माग्नु गलत हो भनि सरकारलाई प्रश्न समेत गरे ।

‘दुई हप्तादेखि राज्यका विभिन्न तहमा दलितको सहभागिता हुनुपर्छ भनेर माइतिघरमा आन्दोलन गर्दै आएका खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको तर अबेर राति छोडेको भन्ने सुनियो,’उनले भने,‘म सरकारलाई सोध्न चाहन्छु के खगेन्द्र जस्तै दलितहरुले आफ्नो हक माग्नु गलत हो ? आफ्नो हक माग्नेजति सबैलाई मुख थुनेर बन्द गर्ने नियत हो कि सरकारले ऊ जस्ता अभियन्ताहरुको आवाज सुनेर संविधानले निर्दिष्ट गरे अनुसार राज्यको संरचनाहरुमा सहभागिता गराउने हो ? सरकारले स्पष्ट पारोस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =