एकतर्फी खुल्यो नागढुङ्गा सडक

काठमाडौँ । चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गामा खसेको पहिरो हटाएपछि एकतर्फी सवारी आवागमन खुलेको छ । नागढुङ्गा चोकबाट केही सय मिटर पर नागमन्दिर नजिकै पहिरो खसेको हो ।

प्रहरी वृत्त थानकोटका अनुसार साँझ ५ बजेदेखि सडक एकतर्फी खुलाइएको र अहिले काठमाडौँ आउनका लागि नागढुङ्गा तल्लो क्षेत्रमा जाममा रहेका सवारी साधनलाई भित्र्याउन शुरु भएको छ । सवारी साधनको लामो लाइन रहेकाले सहज हुन केही समय लाग्ने बताइएको छ ।

वर्षा जारी रहँदा पहिरो पन्छाउने र खस्ने क्रम जारी भएकाले बुधवार बिहानदेखि पहिरो खसेर रोकिएको सडक खुलाउन दिनभर समय लागेको हो । जसका कारण काठमाडौँ नौविसे खण्ड प्रभावित भएको थियो ।

पानी थप परेको खण्डमा पुनः पहिरो खसेर अवरोध हुनसक्ने सम्भावना रहेको प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए । तीन वटा एक्स्काभेटरको सहयोगमा पहिरो पन्छाउने कार्य भइरहेको उनले बताए ।

“कतिबेला बन्द हुने हो भन्ने थाहा छैन, त्यसैले अहिले काठमाडौँ उपत्यकामा ‘माइकिङ’ गरेरै जानकारी दिएकाले आज सो क्षेत्रमा सकेसम्म यात्रा नगर्न भनिएको छ,” उनले भने ।

पहिरोका कारण काठमाडौँ भित्रिने र बाहिरिने सबै सवारीसाधान दिनभर ठप्प रहेको छ । अहिले पानी पर्न कम भएको छ ।नागढुङ्गा प्रहरीले काठमाडौँबाट जाने सवारी साधन नागढुङ्गामै रोकेर फर्काइरहेको छ भने आउने सवारी साधान ‘पिप्लामोड’ भन्दा तल नै रोकिएका छन् ।

काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नै बन्द हुँदा यात्रुहरू समस्यामा परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 15 =