सिन्धुपाल्चोकमा सुख्खा पहिरो जाँदा इन्द्रावती नदीको बहावमा अवरोध, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका तिपेनीमा सुख्खा पहिरो आएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सतर्कता अपनाउन आग्रह गरेको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै प्रशासनले इन्द्रावती नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भएकोले स्थानीय बासिन्दाहरूलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्रशासनका अनुसार पहिरोले इन्द्रावती नदीको बहावमा अवरोध सिर्जना भएको छ ।
‘प्रस्तुत विषयमा सिन्धुपाल्चोक जिल्ला पाँचपोखरी थाङपाल गाउँपालिका तिपेनीमा आएको सुख्खा पहिरोको कारण इन्द्रावती नदीको बहावमा अवरोध भई रहेको हुँदा नदी थुनिन सक्ने, नदी थुनिएर एक्कासि खोलिएमा बाढी आउन सक्ने भएकोले पाँचपोखरी गाउँपालिका वडा नं ७ र ८ मेलम्ची नगरपालिका वडा नं ७, ९,१ १, १२ र १३ र इन्द्रावती गाउँपालिका वडा नं १०, ११ र १२ लगायतका नदी तटमा बस्ने स्थानीय वासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन हुन अनुरोध गरिन्छ ।’ विज्ञप्तिमा उल्लेख छ ।









