गट्ठाघरमा ट्राफिकले स्कुटरलाई नरोकेको पुष्टि (भिडिओ)

काठमाडौं । बिहीबार भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमा सडक दुर्घटना भयो । ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि गट्ठाघर दिनभर तनावग्रस्त बन्यो । दिउँसो १ः५९ बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–४ खहरे घर भई काठमाडौं कपनमा बस्दै आएका ६५ वर्षका उत्तम कोइरालाको मृत्यु भयो । उनको शव आफन्तले सनाखत समेत गरिसेकेका छन् ।
बिहीबार दिनभर ट्राफिक प्रहरीका कारण सडक दुर्घटना भएको भनेर हल्ला चलाइयो । तर, सो हल्ला सत्य नभएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको स्कुटर ट्राफिक प्रहरीले नरोकेको पुष्टि भएको छ । दुर्घटना स्थलको सिसिटिभी फुटेजमा दुर्घटनामा परेको स्कुटर र ट्रक दुबैलाई ट्राफिक प्रहरीले नरोकेको देखिएको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले दुर्घटनामा परेको स्कुटर र ट्रक दुवै सवारीलाई ट्राफिकले नरोकेको बताए । उनले ट्राफिक प्रहरीले आफ्नो नियमित डिउटी गरिहरेको भए पनि दुर्घटनाको समयमा कुनै गाडी नरोकेको मकालुखबरलाई बताए ।
‘ट्राफिक प्रहरीले चेकिङ गरिरहेको थियो, त्यो नियमित डिउटी हो,’उनले मकालुखबरसंग भने, ‘तर दुर्घटनाको समयमा स्कुटर र ट्रक दुवैलाई रोकेको छैन । त्यो बेला कुनै पनि सवारीलाई रोकिएको देखिएन ।’
उनले ट्राफिकका कारणले दुर्घटना भएको सत्य नभएको बताए । सार्वजनिक भएको सिसिटिभी फुटेजले पनि त्यसको पुष्टि गरेको डिएसपी कार्कीले बताए ।
‘सबै कुरा सिसिटिभी फुटेजमै देखिएको छ नि, त्यसमा धेरै बोल्नु पर्दैन,’ उनले भने ।
प्रत्यक्षदर्शीहरूले ट्राफिकले जाँच गर्ने क्रममा रोकेको स्कुटरलाई ट्रकले ठक्कर दिएको भन्दै बिहीबार प्रदर्शन गरेका थिए ।








