अख्तियारले मुद्दा दायर गरेपछि कर्मचारी निलम्बन हुनुपर्छ : प्रमुख आयुक्त राई

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अख्तियारले मुद्दा दायर गरेपछि कर्मचारीहरू निलम्बित हुनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख आयुक्त राईले अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि कर्मचारी निलम्बित हुने विद्यमान व्यवस्था कायम हुनुपर्ने बताएका हुन् । उनले अख्तियारले मुद्दा दायर गरेपछि विशेष अदालतबाट सफाइ नपाएसम्म कर्मचारी निलम्बन हुनुपर्ने बताए ।

उनले कर्मचारी निलम्बन भएन भने प्रमाण नष्ट गर्ने तथा काममा अवज्ञा गर्नसक्ने बताए । उनले निलम्बन नगरेमा सुशासन कायम हुनेमा प्रश्न उठ्ने बताए ।

उनले भने ‘हामीले प्रत्येक प्रतिवेदनमा नीतिगत निर्णयको बारेमा निक्र्यौल हुनुपर्छ भनेर दिएकै हो सुझाव । दिएकै छ । नीतिगत निर्णयको परिभाषा कसरी गर्ने भन्ने कुरा चाहिँ उठि नै रहेको छ । हामीलाई राख्दाखेरि कुनै आपद् हुँदैन । राख्न सक्नुपर्छ । यदि कर्मचारीहरू हामीले मुद्दा दायर गरेपछि विशेष अदालतबाट सफाइ नपाएसम्म निलम्बन भइराखेन भने त्यो कर्मचारीले एक त आफूसँग भएको प्रमाणपनि नष्ट गर्ला । दोस्रो कुरा उसले काममा पनि अवज्ञा गर्ला । मेरो त मुद्दा छ त्यहाँ, किन काम गर्ने भनेर हाजिर मात्रै गरेर हिँड्ला । त्यो कारणले गर्दा पनि निलम्बन रही नै रहनुपर्छ । अरु ऐनमा छैन । भ्रष्टाचार निवारण ऐनमा पनि रहेन भने अनि हामीले कुन अवस्थामा सुशासन कायम गर्न खोजेको ? कस्तो खालको अनुशासन कायम गर्न खोजेको ? भन्ने प्रश्न उठ्छ ।’

प्रमुख आयुक्त राईले नीतिगत निर्णयको सम्बन्धमा निक्र्यौल गर्न अख्तियारले बारम्बार प्रतिवेदनमा उल्लेख गरेर सुझाव दिइरहेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 1 =