नेपालले शान्ति प्रक्रियामा अवलम्बन गरेको नीति विश्वका लागि उदाहरणीय छ : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालले शान्ति प्रक्रियामा अवलम्बन गरेको नीति विश्वका लागि उदाहरणीय र अनुकरणीय रहेको बताएका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा भएको राष्ट्रिय सहमतिले सङ्क्रमणकालीन न्यायको जटिल कामलाई नेपाली राजनीतिक दलहरूले आफै सम्पन्न गर्न सक्षम छन् भन्ने सिद्ध भएको बताए । उनले प्रस्तुत विधेयकले सङ्क्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको बताए । उनले सत्यको अन्वेषण गर्ने, न्याय गर्ने, पीडितलाई परिपूरण गर्ने, द्वन्दको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था विधेयकले गरेको पनि उल्लेख गरे ।
उनले विधेयक सङ्क्रमणकालीन न्यायको मान्यतामा आधारित प्रचलित कानुन, सर्वोच्च अदालतको फैसला, अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल रहेको पनि बताए । उनले विधेयक कानुन बनेपश्चात सबै पीडितहरूलाई न्यायको अनुभूत गर्नेमा विश्वास व्यक्त गरे ।
उनले भने ‘शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न नसक्दा अन्यौलता एवं पीडितको न्याय पाउने अधिकार कुण्ठित भएको थियो । उक्त जटिल कामलाई नेपाली राजनीतिक दलहरूले आफैँ सम्पन्न गर्न सक्षम छन् भन्ने सन्देश प्रवाह गर्न वर्तमान सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा भएको राष्ट्रिय सहमतिले सिद्ध गरेको छ । नेपालले शान्ति प्रक्रियामा अवलम्बन गरेको नीति विश्वका लागि पनि उदाहरणीय र अनुकरणीय रहेको छ । ’
सभापति देउवाले यस विधेयकलाई अन्तर्राष्ट्रिय समुदायले पनि नजिकबाट नियालिरहेको भन्दै विधेयकलाई अन्तर्राष्ट्रिय समुदाय र सरोकारवाला पक्षले पनि स्वागत गर्ने विश्वास व्यक्त गरे । उनले विभिन्न मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय कानुनहरूलाई समेत ध्यानमा राख्दै विधेयक आएको बताए ।








