टीआरसी विधेयक पारित गर्ने तयारी, शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधि सभाको बुधबारको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदैछ । विधेयक आजै पारित गर्ने सदनको तयारी छ ।
संसद् सचिवालय स्रोतकाअनुसार टीआरसी विधेयक पारित गर्नुअघि शीर्ष नेताहरूले सम्बोधन गर्ने तय भएको छ । सदनमा विधेयकउपर छलफलका क्रममा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको हो ।
आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्दे छन् । मंगलबार कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरेका थिए ।
प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो । विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।








