भारतीय विदेश सचिव नेपाल आउँदै

परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको निमन्त्रणामा भारतीय विदेश सचिव विक्रम मिस्री नेपाल भ्रमणमा आउने भएका छन्।
उनले यही साउन २७ देखि २८ गतेसम्म नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
दुई देशका विदेश सचिवबीच पारस्परिक हितका विषयलाई अगाडि बढाउने तथा सम्बन्ध थप सुदृढीकरण गर्ने लगायत विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा भारतीय विदेश सचिव मिस्रीले नेपालका विशिष्ट व्यक्तिसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको छ ।
यो भ्रमण दुई छिमेकी देशबीचको नियमित भ्रमण आदानप्रदानको निरन्तरता भएको बताइएको समेत परराष्ट्र मन्त्रालयले जनाएको छ । विदेश सचिव मिस्री साउन २८ गते काठमाडौँबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ ।
उनको भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्ने विश्वास लिइएको छ ।
नेपाल र भारतबीच सदियौँ पुरानो सभ्यतागत, संस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको छ ।








