सांसदहरूको माग- सरकारले बिरामीको चापअनुसार चिकित्सकहरूको परिचालन गर्नुपर्छ

काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले क्यान्सरजस्ता प्राणघातक रोगहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।

बिहीवार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनीहरुले बिरामीको चापअनुसार स्वास्थ्य उपचारको लाग आवश्यक जनशक्ति परिचालन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठकमा बोल्दै सत्तारुढ नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले क्यान्सर, मुटुरोग जस्ता जटिल रोगहरूलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरे । उनले स्थानीय तहको अस्पतालहरूमा पनि जनशक्ति र आवश्यक उपकरणको व्यवस्था गर्न सरकारलाई सचेत गराए ।

उनले भने ‘यो दीर्घरोगका लागि जस्तै मुटु रोग, कलेजो,मिर्गौला, ब्लड क्यान्सरजस्ता उपचारहरूका लागि सहायता दिने कुरा पुगेको छैन । यसका लागि पूर्ण रुपमा सरकारी अस्पतालमा निःशुल्क उपचार हुने व्यवस्था सरकारले गर्नुपर्छ । पालिकामा अस्पतालहरू भएपनि दक्ष जनशक्ति जनशक्ति छैन, उपकरणहरूको अभाव छ । ल्याबहरू छैनन् । यी विषयमा पनि सरकारको ध्यान जान जरुरी छ ।’

एमालेकी सांसद इन्दिरादेवी गौतमले बिरामीहरूको चापलाई धान्ने गरी अस्पतालहरूमा जनशक्ति र उपकरणको व्यवस्था गर्न सरकारलाई दबाब दिइन् । उनले अस्पतालमा औषधिको अभाव हुने अवस्था आउन नदिन पनि सरकारले ध्यान दिनुपर्ने बताइन् ।

सांसद गौतमले भने ‘जुन अस्पतालहरूमा बिरामीहरूको चाप बढ्छ, त्यस्ता अस्पतालहरूमा स्वास्थ्यकर्मीहरूको पनि विशेष व्यवस्था सरकारले मिलाउनु पर्छ । अर्को औषधिहरूको पर्याप्ततामा पनि सरकारले ध्यान दिनुपर्छ । औषधि खाँचो भयो भने पछि औषधि खोज्न जान्दाखेरि समस्या हुने भएकाले त्यस्ता ठाउँमा औषधिको अभाव हुन नदिन पनि सरकार सचेत रहनुपर्दछ ।

प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) की सांसद राजेन्द्रलक्ष्मी गैरेले उपचार पद्धति र औषधि आम जनताले सस्तोमा उपयोग गर्न पाउने व्यवस्था सरकारले मिलाउनुपर्ने बताइन् । उनले डेंगु रोग देशभर फैलिए पनि त्यस अनुसार चिकित्सकको परिचालन गर्न नसकेको भन्दै सरकारको आलोचना गरिन् ।

उनले भनिन् ‘जनताले सस्तोमा उपचार गर्न पाउनुपर्छ । तर हामी कहाँ उपचार पद्धति, औषधि महँगा छन । सरकारीमा त्यसको अभाव छ । प्राइभेटमा महँगो छ । यसलाई कसरी सस्तोमा बनाउन सकिन्छ ? सरकारको यसमा ध्यान जाओस् भन्ने अनुरोध गर्न चाहन्छु । सरकारी अस्पतालमा डेंगुको उपचार गर्ने चिकित्सक पनि छैनन् । त्यसको पनि सरकारले आवश्यक व्यवस्था तत्काल मिलाउनु पर्छ । ’

सांसद गैरेले सरकार अस्पताललाई स्रोत, साधनले सम्पन्न बनाउन पनि सरकारले विशेष ध्यान दिन जरुरी रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − ten =