सांसदहरू भन्छन्- भ्रष्टाचारको मूल श्रोत नै राजनीति हो

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले ठूला—ठूला ठेक्कापट्टामा निजी क्षेत्रको सहभागिता बिना भ्रष्टाचार सम्भव नहुने बताएका छन् ।
बिहीवार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्ने तर भ्रष्टाचारमा सामेल भएको खण्डमा निजी क्षेत्र भनेर छोड्नु नहुने बताए । उनले निजी क्षेत्रलाई लगानीको लागि निरुत्साहित गर्नु नहुने पनि बताए ।
उनले नीतिगत भ्रष्टाचार हुन्छ भने नीतिगत भ्रष्टाचारलाई रोक्न के गर्ने रु अख्तियारले नीतिगत भ्रष्टाचार छानबिन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिने वा नदिने भन्नेबारेमा पनि छलफल जरुरी रहेको बताए ।
समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले भ्रष्टाचारविरुद्ध नागरिक सशक्तीकरण र सामाजिक जागरणमार्फत नियमनको व्यवस्था गर्नुपर्ने बताए । पाठ्यक्रमहरूमा नै सुरुका दिनदेखि नै भ्रष्टाचार सामाजिक अपराध हो भन्नेकुरामा जोड दिएर स्थापित गर्न जरुरी रहेको बताए । उनले सशक्त र अनुशासित नागरिक खबरदारी गरेर मात्रै नीतिगत र अरु प्रकारका भ्रष्टाचार नियन्त्रण र नियमन गर्न सकिने धारणा राखे ।
उनले भने ‘भ्रष्टाचारविरुद्ध नागरिक सशक्तीकरण र सामाजिक जागरणमार्फत नियमनको व्यवस्था गर्नुपर्छ । चिन्तन, सोच र प्रवृत्तिबाटै भ्रष्टाचारका बारेमा न्यूनीकरणका उपायको खोजी गर्नुपर्छ । हामीले हाम्रा पाठ्यक्रमहरूमा नै सुरुका दिनदेखि नै भ्रष्टाचार सामाजिक अपराध हो भन्नेकुरामा जोड दिएर स्थापित गर्न जरुरी छ । सशक्त र अनुशासित नागरिक खबरदारी गरेर मात्रै नीतिगत र अरु प्रकारका भ्रष्टाचार नियन्त्रण र नियमन गर्न सकिन्छ ।’
समितिको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले भ्रष्टाचारको मूल श्रोत नै राजनीति भएको बताइन् । उनले राजनीतिक दलबाट नै भ्रष्टाचारमा बढी मुसिने गरेको बताइन् । उनले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक भ्रष्टाचारीलाई समाउने नभई उम्किने बाटो दिइरहेको जस्तो अनुभव भएको बताइन् ।
उनले भनिन् ‘अहिले नेपालमा जहाँ हे¥यो, त्यहीँ भ्रष्टाचार, जसले पायो त्यसैले गर्ने छ । त्यो राम्रो भएन । भ्रष्टाचारको मूल श्रोत नै राजनीति हो । कर्मचारीले पनि नेताहरूलाई भ्रष्टाचार गर्न सिकाइदिन्छन् । मूल श्रोत राजनीति हो । राजनीतिक दलबाट नै भ्रष्टाचारमा बढी मुसिएको छ । यो ऐनले भ्रष्टाचारीलाई समाउने होइन, उम्किने बाटो दिइरहेको जस्तो अनुभव भएको छ ।’
सांसद कार्कीले कर्मचारीहरूले नेताहरूलाई भ्रष्टाचार गर्न सिकाइरहेको पनि बताइन् ।








