मौसम विभागले भन्यो- दुई दिन देशभर मुसलधारे वर्षा छ, सजग रहनू

काठमाडौं । आउँदो दुई दिन देशव्यापी रूपमा अत्यन्त मुसलधारेदेखि मध्यम वर्षा हुने भएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आइपुगेकाले आज र भोलि दुई दिन देशव्यापी वर्षा हुने भएको हो ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष मौसम बुलेटिन अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिम भेगसम्मै अति भारी र मध्यम वर्षाको क्रम दुई दिन जारी रहने छ । ‘केही जिल्लामा अति भारी वर्षा हुने भएकाले सतर्क रहनुपर्ने छ,’ मौसमविद् शान्ति कँडेलले भनिन्, ‘मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ । त्यसोहुँदा धेरै वर्षा हुन्छ ।’

अति भारी, भारी र मध्यम वर्षाको वर्गीकरणसहित जारी बुलेटिन अनुसार प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी तथा उद्धार तयारी गर्न उनले सरोकारवाला निकायलाई सुझाइन् । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका बाँकी केही स्थानमा अति भारी वर्षाको अनुमान गरिएको छ ।

भारीदेखि अति भारी वर्षाको सम्भावना रहेका ३६ जिल्लामा बाढी, पहिरोलगायतको उच्च जोखिम रहेको महाशाखाले औँल्याएको छ । वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिममा रहेका ३७ जिल्लामा पनि पूर्वतयारी आवश्यक रहेको जनाइएको छ । जसमा उपत्यकाको काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लासमेत रहेको छ ।

मध्यमदेखि सामान्य वर्षा हुने सात जिल्लामा पनि खण्डित वर्षा हुन सक्ने भएकाले सतर्क रहन भनिएको छ । सोमबार रातिदेखि बुधबार रातिसम्म रातको समयमा बढी वर्षा हुने भएकाले पनि जोखिम बढ्न सक्ने मौसमविद् कँडेलको अनुमान छ । जसकारण सहरी भेग र तराईमा उच्च डुबान बढ्ने, राजमार्ग, हवाई यातायातसमेत प्रभावित हुने भएकाले मौसम सुधार नभएसम्म टाढाको यात्रा नगर्न महाशाखाले अनुरोध गरेको छ ।

कहाँ-कहाँ छ जोखिम ?
सात वटै प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै अति भारी वर्षाको सम्भावना छ । वागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहको छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा माथि वर्षा भयो भने त्यसलाई अति भारी वर्षा भनिन्छ । १० मिलिमिटरसम्मको वर्षालाई सामान्य वर्षा, १० देखि ५० मिलिमिटरसम्मको वर्षालाई मध्यम वर्षा भनिन्छ ।

५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्मको वर्षालाई धेरै भारी वर्षा र त्यसमाथिको वर्षालाई अति भारी वर्षा भन्ने गरिएको विभागले जनाएको छ । यसैबीच, देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ । मकवानपुर, झापा, सप्तरी, मोरङ, सुनसरीका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ । मकवानपुरको बकैया नदी जुरेलीबजार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ । जलसतह बढ्दो क्रममा रहेको छ ।

बकैया नदीको बारासम्मकै नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागमा रहनेहरूले बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सप्तरी जिल्लाको खाडो नदी, पूर्व–पश्चिम राजमार्ग जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास पुगेको छ ।

वर्षा भएरहेको र जलसतह बढ्दो क्रममा रहेकाले तल्लो नदी तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा रहनेहरूलाई बिहान १० बजेसम्म उच्च सावधानी अपनाउन विभागको आग्रह छ । झापाको सिस्ने, मोरङको हरैँचा र केराबारी, सुनसरीको धरान, सप्तरीको रुपनी बजार वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको छ ।

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बग्ने बिरिङ, चिस्याङ, लोहन्द्रा, केसलिया नदी र अन्य स-साना खोलामा आकास्मिक बहावको जोखिम छ । त्यसैले नदी तटीय क्षेत्रमा रहनेले बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउनु पर्ने विभागले जनाएको छ । अति भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न विभागले पूर्वसावधानी अपनाउन भनेको छ ।

दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेको विभागको भनाइ छ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ अवस्थित छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहँदा मनसुनी प्रणाली थप सक्रिय हुन्छ, र धेरै वर्षा हुन्छ । यो रेखा दक्षिणतर्फ रहँदा कम वर्षा हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − six =