बालेन्द्र साहलाई पूर्वमेयरको चेतावनी- नगरप्रहरीको बलमा गुण्डागर्दी सह्य हुँदैन

काठमाडौँ । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले हैसियतअनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्किएको बताएका छन् ।
शनिवार नेपाल खेलकुद महासंघ काठमाडौंले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले महानगर प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै धरहरा भत्काइदिने भन्दै आपत्तिजनक अभिव्यक्ति दिन वाञ्छनीय नहुने बताए । उनले अरूलाई गाली गरेर जस लिने तर काम केही पनि नगर्ने प्रवृत्ति हुनु नहुने बताए ।
उनले आफू काठमाडौं महानगरको मेयर हुँदा महानगरले विभिन्न राम्रा कामहरु गरेको उल्लेख गरे । उनले आफू मेयर रहँदासम्म काठमाडौं महानगरपालिकाको हैसियत सरकारले ९ औं स्थानमा राखेको भएपनि अहिले हैसियतअनुसार काम नहुँदा १७ औं स्थानमा पुगेको जिकिर गरे ।
उनले भने ‘धरहराकै कारण अहिले पनि कसैले चर्चा पाइरहेका छन् । कसैले पायो भने त्यस क्षेत्र भत्काउँछु भन्ने तर अरु बेलामा सुविधा सबै लिने । गाली गरेर जस सबै आफूले लिने अपजस सबै अरूलाई दिने गर्छन् । त्यसमा हामीले चिन्ता लिनु पर्दैन । हामी काठमाडौं महानगरको मेयरको रुपमा रहँदा महानगर त्यस सञ्चालनको जिम्मा हामीले दिने भनिएको थियो । त्यसबेलामा काठमाडौं महानगरपालिकाको हैसियत भनेको नेपाल सरकारले ९ औं स्थानमा राखेको थियो । अहिले झारेर १७ औं स्थानमा पुर्याएको छ । हामीले हाम्रो हैसियतअनुसार काम गर्न नसक्दा, नेतृत्वले आफ्नो भुमिका निर्वाह गर्न नसक्दा सरकारले अवमूल्यन गरेर काठमाडौं महानगरपालिका भन्दा देशभरका सम्पूर्ण मेयर, उपमेयरलाई तल राख्ने काम गरेको छ । हामी सबैले आफ्नो हैसियत बुझेर काम गर्नुपर्छ ।’
पूर्वमेयर शाक्यले स्थानीयको इच्छा विपरीत कामनपाले काम गरिरहेको बताए । उनले न्युरोडमा नगरप्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको आरोप लगाए । उनले जनप्रतिनिधि सडकमा र नगर प्रहरी लाठी बोक्ने काममा लगाएको बताए ।
उनले नगरप्रहरीको बलमा गुण्डागर्दी सह्य नहुने पनि बताए । उनले नगर प्रहरी अनावश्यक रुपमा थपिएको भन्दै आवश्यकता नरहेको जिकिर गरे । उनले भत्काउने काममा मात्रै महानगर लागेको भन्दै महानगरवासी बनाएको भन्नेकुरा सुन्न आतुर रहेको बताए ।
उनले महानगरपालिकाले करको सही सदुपयोग गर्नुपर्ने बताए । सत्तामा भएकाहरू आफू रमाउनको लागि नभई भविष्यको पुस्ताको खुसीका लागि लाग्नुपर्ने बताए ।








