पोखरा स्कुलबस दुर्घटना : छानबिन गर्न समिति गठन
काठमाडौँ । कास्कीको पोखरामा आज २ जनाको ज्यान जाने गरी भएको विद्यालयको बस दुर्घटनाबारे छानबिन गर्न समिति गठन भएको छ ।
पोखरा महानगरपालिकाले शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा ७ दिन भित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति गठन गरेको मेयर धनराज आचार्यले जानकारी दिए ।
उनका अनुसार समितिमा उपसचिव कृष्णप्रसाद तिवारी, महानगरीय प्रहरी बलका प्रमुख पुरुषोत्तम थापा र मेकानिकल इन्जिनियर सरोज चालिसे सदस्य छन् भने समितिको सदस्य सचिवमा शिक्षा अधिकृत रामप्रसाद तिवारी रहेका छन् ।
समितिलाई दुर्घटनाको कारण, सवारी साधन, चालकको अवस्था, बसमा सवार विद्यार्थीहरूको संख्या, विद्यार्थी राख्न पाउने संख्यालगायत विषयमा छानबिन गरी प्रतिवेदन पेस गर्न कार्यादेश दिइएको छ ।
सोमबार बिहान देवकोटा मेमोरियल ईङलिस बोडिङ स्कुलको ग १ क ६२१९ नम्बरको बस फुस्रेखोलाको घुम्तीबाट झण्डै ६० मिटर तल खसेको थियो । बसमा विद्यार्थीसहित ३० जना सवार रहेको प्रहरीले जनाएको छ ।
सो घटनामा पोखरा–२१ बस्ने उक्त विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र विद्यालयमा अध्ययनरत उनका छोरा ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको थियो । दुवैजनाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।