सरकारी निकायमा चार्टर्ड एकान्टेण्टको दरबन्दी व्यवस्था गर्न पहल गर्छु : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायमा चार्टर्ड एकान्टेण्टको लागि दरबन्दीको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन् ।
शनिवार साँझ काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संस्थाको दशौँ परिषद्को शपथग्रहण समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले राज्यका सम्बद्ध निकायहरूमा चार्टर्ड एकान्टेण्टको दरबन्दी राख्ने विषयमा सरकार छिट्टै निष्कर्षमा पुग्नेगरी पहल गर्ने प्रतिबद्धता जनाए ।
उनले राज्यका सम्बद्ध निकायहरूमा अर्थ मन्त्रालय, अर्थ मन्त्रालय मातहतका निकाय, महालेखापरीक्षक कार्यालय र त्यसका मातहतका निकाय लगायत अन्य निकायहरूमा चार्टड एकाउन्टेण्टका लागि दरबन्दीको प्रबन्ध गरिने बताए । अर्थमन्त्री पौडेलले राज्यमा सम्बद्ध निकायमा चार्टर्ड एकान्टेण्टहरुको लागि दरबन्दीको व्यवस्था हुनुपर्ने मागमा सकारात्मक रहेको बताए ।
उनले मुलुकको लेखा प्रणालीलाई प्रभावकारी र पारदर्शी बनाउन चार्टर्ड एकान्टेण्टहरुको महत्वपूर्ण भुमिका रहेको बताए । अर्थमन्त्री पौडेलले कर प्रणालीमा सुधार, आर्थिक पारदर्शिता, जबाफदेहिता र कर्तव्यपरायणता मुलुकको उन्नतिको पूर्वशर्त रहेको बताए । उनले आगामी दिनमा कर प्रणाली र लेखा परीक्षणको विकासमा आधुनिक प्रविधिको प्रयोग सहित चार्टड एकाउन्टेण्टको विधालाई प्रभावकारी सशक्त र विश्वसनीय बनाउनको निम्ति चार्टड एकाउन्टेण्ट संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरे ।
उनले भने ‘आगामी दिनमा कर प्रणाली र लेखापरीक्षणको विकासमा आधुनिक प्रविधिको प्रयोग सहित चार्टड एकाउन्टेण्टको विधालाई प्रभावकारी,सशक्त र विश्वसनीय बनाउनको निम्ति चार्टड एकाउन्टेण्ट संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । पछिल्ला दिनहरूमा चार्टड एकाउन्टेण्ट सरकारका सम्बद्ध निकायहरूमा चार्टड एकाउन्टेण्टको दरबन्दी प्रबन्ध हुनुपर्छ भन्ने कोणबाट पनि आवाजहरू उठिरहेका छन् । छलफल चलिरहेको छ । हामीले लेखापरीक्षणको क्षेत्रमा जुन गुणस्तरको अपेक्षा गरेका छौँ । त्यो गुणस्तर कायम गर्नको लागि राज्यका सम्बद्ध निकायहरूमा अर्थ मन्त्रालय,अर्थ मन्त्रालय मातहतका निकाय,महालेखापरीक्षक कार्यालय र त्यसका मातहतका निकाय लगायत अन्य निकायहरूमा चार्टड एकाउन्टेण्टका लागि दरबन्दीको प्रबन्ध गर्नुपर्छ । त्यो प्रबन्धका साथ सरकारले लेखापरीक्षणको कामलाई अगाडी बढाउनुपर्छ भन्ने कोणबाट माग र विचारहरू आइरहेका छन् । त्यसमा मेरो सकारात्मक दृष्टिकोण रहेको छ । केही समय लाग्नसक्छ । यो मागलाई सार्थक तुल्याउनको निम्ति पहल कदमी लिन्छु ।’
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चार्टर्ड एकान्टेण्टले देखाएको पारदर्शी दक्षताले सरकारी निकायहरूमा चार्टर्ड एकान्टेण्टको दरबन्दी गर्नुपर्ने महसुस गरेको बताए । उनले सरकारले सरकारी निकायहरूमा लेखापरीक्षणमा चार्टर्ड एकान्टेण्टहरुले देखाएको राम्रो कामका आधारमा दरबन्दीकै व्यवस्था गर्ने पक्षमा सरकार पुगेको उल्लेख गरे । गभर्नर अधिकारीले चार्टर्ड एकान्टेण्टको महत्त्व र नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रिय रुपमा पुर्याएको योगदान लोभ लाग्दो रहेको बताए ।
उनले चार्टर्ड एकान्टेण्टसंस्थाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरिरहेको उल्लेख गरे । उनले आगामी दिनमा पनि लेखाप्रणालीलाई पारदर्शी बनाउने गरी काम गर्न थप सक्रियता बढ्ने अपेक्षा रहेको बताए ।








