चित्तलको ६० किलो मासुसहित कोर क्षेत्रबाट एक जना पक्राउ

बाँके । जिल्लाबाट चित्तलको मासुसहित एक जनालाई पक्राउ गरिएको छ ।
बाँके राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षामा तैनाथ रणबम गणमा कार्यरत नेपाली सेनाको संयुक्त गस्ती टोलीले गएराति कोहलपुर नगरपालिका–१३ का मोहन थारूलाई ६० किलोग्राम चित्तलको मासुसहित पक्राउ गरेको हो ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहका अनुसार निकुञ्जको महादेवा पोष्टको करिब दुई सय मिटर उत्तरतर्फको निकुञ्जको कोर क्षेत्रबाट थारु पक्राउ परेका हुन् ।
थारूसँगै समूह वन्यजन्तुको सिकार गर्नलाई बसेका अन्य परार रहेका जनाउँदै उनीहरूको खोजी भइरहेको उनले बताए ।
‘चोरी–सिकारी गर्ने टोलीले निकुञ्जभित्र एक राउन्ड हवाई फायर गरेका थिए । निकुञ्जभित्र गोली चलेको आवाज सुनेपछि प्रहरीको गस्ती टोली त्यहाँ पुगेको थियो’, साहले भने, ‘गस्ती टोली आएको थाहा पाएर तीनजना भागेका थिए । मोहन थारु भने चित्तलको मासुसहित पक्राउ परेका हुन् ।’
पक्राउ परेका थारूका साथबाट एक थान भरुवा बन्दुक, दुई ठाउँमा गोली लागेको ६० केजीको मृत वयस्क चित्तल र अन्य बन्दोबस्तीका सामान फेला परेका अधिकृत साहले जानकारी दिए ।
उनले अन्य सिकारीहरू घटनास्थलबाट फरार भएकाले खोजी भइरहेको बताउँदै वन्यजन्तु सिकार गर्नेहरू सबैलाई नियमानुसार कारबाही गरिने जानकारी दिए ।








