सिमलताल दुर्घटना : एन्जल बसका मालिकसहित १७ जनाकाे सनाखत

२८ असारमा चितवनकाे सिमलतालमा पहिराेले बगाउँदा त्रिशूली नदीमा दुईवटा बस खसेर बेपत्ता भएका यात्रुमध्ये अहिलेसम्म २५ जनाकाे शव भेटिएकाे छ । शव भेटिएका २५ जनामध्ये हराइरहेकाे एन्जल बसका मालिकसहित १७ जनाकाे सनाखत भएकाे छ । आठ जनाकाे सनाखत हुन बाँकी रहेकाे प्रहरीले जनाएकाे छ ।
सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र बसमा सवार यात्रुको खोज तथा उद्धार कार्यमा आजदेखि भारतीय टोली पनि परिचालन भएको छ । भारतीय नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ) को १२ सदस्यीय टोली आजदेखि खोजतलासमा जुटेकाे हाे ।
खोजतलासका लागि आएका एनडीआरएफका प्रतिनिधि कुनाल तिवारीले अब यथासक्य छिटो खोजतलासको काममा जुट्ने बताए । उनले नेपालका जस्तै नदी भारतमा पनि रहेको जनाउँदै उस्तै प्रकृतिका नदीमा खोजतलास गर्न समस्या नहुने बताए । सुनौली नाका हुँदै नेपाल भित्रिएको टोली भैरहवामा बसेर आज चितवन आइपुगेको हो । पानीमुनि खोजतलासमा प्रयोग हुने यन्त्र उपकरणलगायत सेटसहित उनीहरू आएका छन् । उनीहरूले तीनवटा अत्याधुनिक सोनार उपकरण पनि ल्याएका छन् ।
ती उपकरणले पानीभित्र ३० फिट तलसम्म हेर्न मिल्छ । टोली सात दिनसम्म यहाँ रहने छ । नेपालको स्रोतसाधनले बसको अवस्था पत्ता लगाउन नसकेपछि सरकारले खोजीका लागि अन्तर्राष्ट्रिय उद्धार टोली मगाएको हो । गृह मन्त्रालयले परराष्ट्रमार्फत भारतीय उद्धार टोली मगाएको थियो । २८ असारमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौंबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरोसँगै बगेर त्रिशूली नदीमा यात्रु बेपत्ता भएका थिए ।
उक्त बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ बेपत्ता भएका थिए । आजसम्म २५ जनाको शव फेला पारिएको छ । अझै ३७ यात्रुसहित दुईवटै बसको अवस्था पत्ता लाग्न सकेको छैन ।
अहिलेसम्म भेटिएका मृतकहरूकाे विवरण









