त्रिशूलीमा बेपत्ता यात्रुको शव एसएसबीले भारतमा भेट्यो, चितवन ल्याइँदै

काठमाडौँ । त्रिशूलीमा बेपत्ता भएका थप एक जनाको शव ८ औं दिनमा भारतमा फेला परेको छ। शुक्रबार साँझ भारत पश्चिम चम्पारण बगाहास्थित नहरमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले एक जनाको शव भेटाएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
उनको शव लिन सशस्त्र प्रहरी गएको छ। शवको सनाखत हुन सकेको छैन । शव नेपाल ल्याउन एसएसबीसँग समन्वयका लागि सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट त्रिवेणीका सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटिएको सहप्रवक्ता थापाले बताए।
यसअघि अरु दुई जनाको शव पनि भारतस्थित पश्चिम चम्पारणमा भेटिएको थियो। त्रिशूलीमा बेपत्ता भएका २५ जनाको शव फेला परेको छ। ती मध्ये १५ जनाको मात्रै सनाखत भएको छ। अरु १० जनाको सनाखत गर्ने प्रयास गरिरहेको प्रहरीले जनाएकोृ छ।
असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् ।
दुई बसमा रहेका ६५ जना मध्ये ६२ जना बेपत्ता भएका थिए। तीन जना भने बाँच्न सफल भएका छन्।








