बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध
म्याग्दी । गत असार २७ गते रातिदेखि खस्न थालेको पहिरोका कारण बेनी–दरबाङ सडक आठ दिनदेखि अवरुद्ध बनेको छ । उक्त खण्डको तातोपानीमा गएको पहिरोका कारण यातायात सञ्चालन नहुँदा पश्चिम म्याग्दीका सयौँ नागरिकले दैनिक यात्रामा सास्ती भोग्दै आएका छन् ।
पिठ्युमा भारी र काँधमा छोरीलाई बोकेर तातोपानी परको घुमाउने भिरपारी पैदल हिँडेर यात्रा गरेकी धवलागिरि गाउँपालिका–७ धारापानीकी जमुना थापाले लामो सुस्केरा हाल्दै बेनी–दरबाङ खण्डको पहिरोलाई नियालिन् ।
सदरमुकाम बेनीबाट खाद्यपदार्थका साथै दैनिक उपभोग्य सामग्री गाउँतर्फ लैजान नसक्दा खाद्यान्नलगायत विकास निर्माणमा आवश्यक पर्ने सामग्रीको अभाव भएको छ । गाउँमा उत्पादित तरकारी, फलफूल तथा अन्य कृषिजन्य वस्तु बिक्रीका लागि बजारसम्म ल्याउन नसक्दा खेतबारीमा खेर गएका कृषकले बताएका छन् ।
वर्षासँगै म्याग्दीको बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सीमानामा पर्ने फापरखेतमा गत असार २७ गते राति खसेको पहिरोले सडक अवरुद्ध भएको थियो ।
सडक डिभिजन कार्यालय, यातायात व्यवसायीले मेसिन र जनशक्ति परिचालन गरेर पटकपटक पहिरो पन्छाउने प्रयास गरेपनि पहिरो खस्ने क्रम नरोकिएको तातोपानीका व्यवसायी कुमार केसीले बताए । यसले पश्चिम म्याग्दीका नागरिकलाई आवागमनमा सास्ती हुँदै आएको उनले बताए ।
यातायात सञ्चालन हुन नसकेपछि पश्चिम म्याग्दी जाने सयौँ यात्रु बेनीबाट तातोपानीसम्म गाडीमा र त्यहाँबाट पैदल हिँडेर म्याग्दी नदीको झोलुङ्गे पुल हुँदै सिमलचौर निस्केपछि अर्को गाडीमार्फत गन्तव्यमा जाने गरेका छन् ।
पश्चिम म्याग्दीको ‘लाइफ लाइन’का रूपमा लिने गरिएको बेनी–दरबाङ सडकको फापरखेतमा सामान्य वर्षा हुँदा पनि आवागमन अवरुद्ध हुने समस्याले स्थानीयले सास्ती खेप्दै आएका यातायात व्यवसायी टेकबहादुर राम्जालीले जानकारी दिए ।
उन्नाइस वर्षअघि सडकको मार्ग खोल्नुपूर्व पहिराको जोखिम थियो । पहिरो रोकथाम गर्न दीर्घकालीन योजना नहुँदा यस खण्डमा बर्खायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको स्थानीय बताउँछन् ।
धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने उक्त सडक बर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए ।
‘बेनी–दरबाङ खण्ड पाखो र भिरको बीचमा खनिएको छ । सडकमुनि म्याग्दी नदी छ । सडकमाथिको भिरमा ढुङ्गा र ग्रेगर छ । खोल्सामा पर्ने सडकमाथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन’, अध्यक्ष रोकाले भने ‘म्याग्दी नदीको किनारमा बनाइएका पक्की पर्खालले कटान रोकिएको छ ।’ उनका अनुसार सडकदेखि करिब दुई सयमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।
पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दाबित्तिकै पन्छाउने गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए । ‘फापरखेत, लाम्पाटा र बाङ्गेको पहिरो नियन्त्रणका लागि बायोइन्जिनियरिङसहितको छुट्टै काम गर्नुपर्छ, ठूलो पहिरो भएकाले लगानी पनि बढी लाग्छ ।’
बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतअन्तर्गत बेनी–दरबाङ्ग खण्डको वैकल्पिक माग खोजिने म्याग्दीका प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले बताए । पहिरोको दीर्घकालीन समाधान गर्न वैकल्पिक मार्ग र बेलिब्रिज निर्माण गर्नुपर्ने भएकाले तीनै तहका सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
वर्खायाममा झनै जोखिमपूर्ण बन्दै गएको भन्दै वैकल्पिक मार्ग निर्माणमा ध्यान दिन सरोकार भएका निकायलाई अनुरोध गरिएको मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए । ‘वर्खाको समयमा वैकल्पिक मार्ग आवश्यक छ, पालिकाले धेरै पहल गरेको छ’, उनले भने, ‘अहिले मोटरसाइकललाई सहज हुने गरी वैकल्पिक बाटो मर्मतमा जुटेका छौँ ।’