नयाँ फोटो टाँस्नका लागि मात्रै सरकार बनाएका होइनौँ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आफूहरु फोटो टाँस्नका लागि मात्रै सरकार नबनाएको बताएका छन् ।
.
बिहीवार सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् ।
उनले आफूहरु सरकारको सूचिमा अर्को एउटा सरकार बनाउने र प्रधानमन्त्रीको सूचिमा अर्को फोटो टाँस्नका लागि मात्रै सरकारमा सहभागी नबनेको जिकिर गरे ।
उनले भने–‘हामी सरकारको सूचिमा अर्को एउटा सरकार बनाउने, प्रधानमन्त्रीको सूचिमा तीन पटक फोटो टाँसेको हुनाले चौथो पटक फोटो टाँस्न जाने, हाम्रो अहिलेको सम्माननीय प्रधानमन्त्रीजी चौथो चोटी फोटो टाँसेर भूतपूर्व प्रधानमन्त्री बन्न आइरहनुभएको होइन ।’
उनले अहिले देश साँच्चै नै अफ्ठ्यारो स्थितिमा रहेको बताए । उनले अहिलेको देशको स्थितिलाई महशुस गरी त्यसबाट मुक्ति दिलाउन सरकारमा आएको बताए ।
‘अहिले हामीले के महशुस गरेका छौँ भने देश साँच्चै अफ्ठ्यारो स्थितिमा छ,’ उनले भने,‘यो स्थितिको सामना कसरी गर्ने ? हेरेर बस्ने की समाधानका लागि अघि बढ्ने भन्दा हामी अघि बढ्ने सोचेर आयौँ ।’
उनले मुख्य दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाउन नहुने तर्कका बीचमा पनि अहिले दुई ठूला राजनीतिक दल मिलेर नगए सबै क्षेत्रमा टुटेको मनोबल उठाउन कठिन हुने स्थितिका कारण दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताए ।
उनले अहिलेको स्थितिलाई मध्यनजर गरी नेपाली काँग्रेस र नेकपा एमाले मिलेको पनि बताए ।
‘हामी मेजर पार्टीहरु बेलाबेलामा मिलेका छौँ र बेला बेलामा प्रतिष्पर्धा गरेका छौँ । सँगै सरकार र सरकार र प्रतिपक्ष भएर बसेका छौँ,’उनले भने,‘अहिले परिस्थितिले के माग गरेको छ भने मेजर पार्टी नमिले टुटेको मनोबल उठाउनै गाह्रो हुन्छ भनेर मिलेका छौँ ।’