बढ्यो चुरापोतेको व्यापार

महोत्तरी । साउन लागेपछि महिलाले हरियो चुरा र पोते लगाउने परम्पराले चुरापोतेको व्यापार बढेको छ । जिल्लामा साउन लागेदेखि रु सात लाखको चुरापोतेको व्यापार भएको यहाँस्थित उद्योग वाणिज्य सङ्घले जनाएको छ ।

जिल्लाको जलेश्वर, मटिहानी, बर्दिबास, गौशाला, औरही, बलवा, मनरा, पिपरा, भ्रमरपुरालगायत बजार क्षेत्रबाट दुई दिनमा रु सात लाखको चुराको व्यापार भएको उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले जानकारी दिए । यसअघिका वर्षमा पनि साउनमा मात्रै रु ३० लाख बढीको चुरापोतेको व्यापार हुने गरेको उहाँले बताए ।

सदरमुकाम जलेश्वरमा लाग्ने गरको चुरापोते बजार, शृङ्गार पसल तथा लहेरी (चुरा बेच्ने) महिलाले गाउँगाउँ गएर बेच्ने स्थानमा चुरापोते किन्ने महिला, किशोरी, युवतीहरुको घुइँचो लाग्ने गरेको जलेश्वर–२ का शृङ्गारको व्यापारी राम महतोले बताए । जिल्लाका अधिकांश हाटबजारमा हरियो, पहेँलो, रातो चुरा तथा पोते किन्ने महिलाको घुइँचो लाग्ने गरेको उनले बताए ।

विवाहित महिलाले अनिवार्य रुपमा हरियो चुरा र पोते लागने परम्पराले गर्दा साउनमा अन्य समयको तुलनामा बढी व्यापार हुने गरेको जलेश्वर–२ का शृङ्गार व्यापारी मुस्ताक अन्सारीले बताए । “जिल्लामा यसअघिका साउनमा चुरापोतेको व्यापारबाट रु ३० लाखसम्म आम्दानी हुन्थ्यो । यस वर्ष दुई दिनको व्यापारको अवस्थाले आम्दानी बढी हुने अनुमान गरेका छौँ”, वाणिज्य सङ्घका महासचिव चौधरीले भने ।

जलेश्वर बजारमा दैनिक चुराको बेच्दै आएकी मुस्ताक लहेरीले दुई दिनमा रु १० हजारभन्दा बढी आम्दानी भएको बताइन् । गत वर्ष महिनाभरि रु एक लाख आम्दानी भएको जनाउँदै यो वर्षको साउनमा तुलनात्मक रुपमा बिक्री बढेकाले आम्दानी पनि बढी हुनसक्ने उनले उल्लेख गरिन् ।

गौशाला बजारकी बेचनी खातुनले दुई दिनमा रु १५ हजार, बलबा बजारकी फुलगेन लहेरी र औरही बजारकी दुखनी खातुनले समान रु २० हजार, मनराकी हरीया लहेरनीले रु १५ हजारको चुरापोते व्यापार भएको बताएका छन् । साउन लागेसँगै जिल्लाका प्रत्येक गाउँ तथा सहरका चुरा पसलमा हरियो चुरा र पोते लगाउने महिलाको घुइँचो लाग्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + sixteen =