काभ्रे र कालिकोटमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

काठमाडौँ । कालिकोट, रास्कोट नगरपालिका–५ स्थित सडकमा आरसिपी बजारबाट फुकोटतर्फ जाँदै गरेको भे.२ त २६१२ नम्बरको ट्याक्टर आइतबार बेलुकी दुर्घटना हुँदा चालक सुर्खेत चिङ्गार्ड नगरपालिका बस्ने २७ वर्षीय विर परियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको थप उपचारको लागि कालागाउँ अस्पताल सुर्खेततर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
साथै दुर्घटनामा गम्भीर घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको कालागाउँ अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै काभ्रे, पनौती नगरपालिका–५ स्थित बनेपाबाट पनौतीतर्फ जाँदै गरेको प्र.३–०२–००७ प ५४११ नम्बरको मोटरसाइकल सडकबाट करिब ६ मिटर तल पुन्यमाता खोलामा खसेर सोमबार बिहान दुर्घटना हुँदा चालक नमोबुद्ध नगरपालिका–१ बस्ने २४ वर्षीय दिपेन्द्र खड्काको मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।








