एमालेबाट मन्त्री छान्न बालकोटमा बैठक

आइतबार आफ्नै नेतृत्वमा बन्ने सरकारमा पठाउने मन्त्रीको छनौट गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले निजी निवास बालकोटमा बैठक बोलाएका छन्।
शनिबार साँझ नेताहरुलाई बोलाएर पार्टीबाट बन्नै मन्त्रीहरुको नाम बारे छलफल गरिरहेका हुन्। छलफलमा एमालेका शीर्ष नेताहरु सहभागी रहेको बालकोट स्रोतले मकालुखबरलाई जानकारी दिएको छ।
एमालेले अर्थ मन्त्रालयसहित ८ मन्त्रालय लिने र कांग्रेसले गृहमन्त्रालयसहित ९ मन्त्रालय लिने सहमती भइसकेको छ। यस्तै साना दलहरुलाई दिने मन्त्रालय बारे पनि दुई ठूला दलले छलफल गरेका छन्। कांग्रेससहित साना दलहरुले पनि मन्त्री छान्नका लागि छलफल गरिरहेका छन्। यसका लागि शनिबार कांग्रेसले मापदण्ड बनाइसकेको छ।
एमालेबाट अर्थमन्त्रीमा विष्णु पौडेल करिव निश्चित छन्। अरु नाम पनि टुंगो लगाउन पार्टीमा छलफल अगाडी बढाएको हो।
अध्यक्ष ओलीलाई आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको तयारी छ। ओलीले एमाले र कांग्रेसका सांसदको समर्थनमा शुक्रबार बेलुका दाबी पेश गरिसकेका छन्।
तर राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरुलाई आइतबार साँझ ५ बजेसम्मको समय दिएकाले उक्त समय सकिएपछि मात्रै प्रधानमन्त्री नियुक्तीको प्रक्रिया अगाडी बढाउने राष्ट्रपतिको तयारी छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार विश्वासको मत नपाएपछि उनी नेतृत्वको सरकार ढलेर एमाले अध्यक्ष नेतृत्वमा सरकार बन्न लागेको हो।








