प्रचण्डको विश्वासको मत फेल भए लगतै ओलीलाई प्रधानमन्त्री बनाउन शितल निवास पुग्ने

नेपाली कांग्रेस र नेकपा एमालेले शुक्रवारै नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष हस्ताक्षरसहितको बुझाउने तयारी गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने निश्चित रहेकाले संसदको प्रक्रिया सकिए लगत्तै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई दुई तिहाइ भन्दा बढी सांसदहरूको समर्थन रहेको जानकारी राष्ट्रपतिलाई गराउने तयारी उनीहरुको छ ।
नयाँ सरकार गठनको प्रक्रियालाई जटिल बनाउन प्रधानमन्त्रीले विश्वासको मत लिन लागेको बेला कांग्रेस र एमालेले सांसदहरूको हस्ताक्षर समेत गराएर धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष आग्रह गर्ने तयारी गरेका हुन्।
प्रचण्डबाट पालैपालो धोखा खाएका दुई दल मिलेसँगै प्रचण्ड भने सत्ता जोगाउन असफल हुने भएका छन्।
तर उनी ओलीलाई सहजै प्रधानमन्त्री हुन नदिनलाई विश्वासको मत लिएर ७६ (३) मा लगेर देउवालाई प्रधानमन्त्री बनाउन चाहन्छन्।
शुक्रबार विश्वासको मत लगतै सभामुखले राष्ट्रपति कार्यालयलाई पत्र पठाउने र कांग्रेस एमालेको सरकार बनाउने प्रक्रिया सुरु हुने तयारी छ।








