मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने संजीवनी बूटी बन्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मौद्रिक नीति बैंक र व्यवसायी दुवै बचाउने सञ्जीवनि बुटी बन्नुपर्ने बताएका हुन् ।
मंगलवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा अध्यक्ष ढकालले यस्तो सुझाव दिएका हुन् । उनले आगामी आर्थिक वर्षको मौद्रिक नीति व्यवसायी तथा वित्तीय क्षेत्रलाई बचाउने गरी संजीवनी बूटी बन्नेगरी मौद्रिक नीति आउनुपर्ने बताए ।
उनले उत्पादनमुलुक उद्योगको क्षमता बढाउँदै बैंकको ब्याजदर विगतको भन्दा कम गर्ने विषय नीतिले बोल्नुपर्ने बताए । उनले मागमा आएको सङ्कुचनको कारण उद्योगीहरूको ऋण तिर्ने नसकेको भन्दै मौद्रिक नीतिले त्यसलाई सम्बोधन गर्नुपर्ने बताए । उनले राष्ट्र बैंकले लगानीलाई प्रोत्साहन, पर्यटन पूर्वाधार र व्यवसायलाई प्रवर्धन गर्ने विषयमा मौद्रिक नीतिले केही सोच्नुपर्ने उल्लेख गरे ।
उनले निजी क्षेत्रमा प्रवाह हुने कर्जालाई सहज र सुलभ गरिनुपर्ने बताए । उनले निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको उल्लेख गरे । उनले नगद प्रवाहमा भएको समस्या,न्यून उत्पादन र निजी क्षेत्रको गिर्दो मनोबलका कारण नयाँ लगानीका योजना समेत स्थगन भइरहेकाले मनोबल उच्च बनाउने मौद्रिक नीति अहिलेको आवश्यकता भएको बताए । उनले गाउँ र साना लगानीका क्षेत्रमा लगानी वृद्धि गर्न बैङ्कहरूलाई प्रोत्साहन गरिनु पर्ने बताए ।
उनले भने ‘उत्पादन मुलुक उद्योगको क्षमता बढाउनुपर्छ । बैंकको ब्याजदर विगतको भन्दा कम गर्ने विषय नीतिले बोल्नुपर्छ । मागमा आएको सङ्कुचनको कारण उद्योगीहरूको ऋण तिर्ने कम भएको छ । त्यसलाई सम्बोधन गरिनुपर्छ । लगानीलाई प्रोत्साहन गर्ने नीति अपनाउनुपर्छ । पर्यटन पूर्वाधार र व्यवसायलाई प्रवर्धन गर्ने विषयमा मौद्रिक नीतिले केही सोच्नुपर्छ । कर्जा प्रवाह सहज र सुलभ गरिनुपर्छ । निक्षेपको तुलनामा कर्जा प्रवाह आधा मात्रै बढेको छ । नगद प्रवाहमा भएको समस्या,न्यून उत्पादन र निजी क्षेत्रको गिर्दो मनोबलका कारण नयाँ लगानीका योजना समेत स्थगन भइरहेका छन् । गाउँ र साना लगानीका क्षेत्रमा लगानी वृद्धि गर्न बैङ्कहरूलाई प्रोत्साहन गरिनुपर्छ । सहकारी र लघुवित्तमा आएको समस्यापछि गाउँ–गाउँमा कर्जा प्रवाह साँघुरिएको अवस्था छ । बैंक तथा वित्तीय संस्थासँगै व्यवसायलाई माथि उठाउने हिसाबले मौद्रिक नीति संजीवनी बूटी बन्नुपर्छ । सबै व्यवसायीहरू खराब छैनन् । सबै ऋणी नियतवश डिफल्ट भएका होइनन् । वास्तवमै समस्यामा परेर कर्जाको सावाँ ब्याज तिर्न नसकेका हुन् ।’
उनले सबै ऋणीले नियतबस कर्जा नतिरेको नभई वास्तविक रूपमै समस्यामा परेर बैंकको ऋण तिर्न नसकेको बताए । उनले कर्जा चुक्ता गरेलगत्तै व्यवसायी तथा कम्पनीलाई कालोसूचीबाट हटाउने व्यवस्था गर्न सुझाव राखे ।








