महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गर्नेकुरा ऐतिहासिक निर्णय हो : चन्द्रप्रसाद ढकाल

काठमाडौं । उद्योग वाणिज्य महासंघमा प्रत्यक्ष निर्वाचनबाटै अध्यक्ष चयन हुने भएको छ ।
सोमवार महासंघको केन्द्रिय कार्यसमिति बैठकले महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने निर्णय गरेको हो । महासंघमा यसअघि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा विधान संशोधन गरेर प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने व्यवस्था गरिएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।
उनले महासंघ कार्यसमितिको सोमवारको बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने गरी विधान संशोधन गर्नु ऐतिहासिक निर्णय भएको दाबी गरे ।
अध्यक्ष ढकालले महासंघको विधान संशोधन गर्न बनेका दुई वटा विधान संशोधन समितिका सुझावका आधारमा कार्यसमितिबाट सर्वसम्मतिले पारित गरेको बताए । उनले विगतमा विधान संशोधनका लागि विभिन्न कार्यदल तथा समितिहरू बने पनि सहमति हुन नसकेकाले वरिष्ठ उपाध्यक्षबाट नै अध्यक्ष हुनेगरी निर्वाचन गर्ने गरिएको भन्दै आगामी दिनमा अब प्रत्यक्ष निर्वाचनमार्फत अध्यक्ष बन्ने अवस्था सिर्जना भएको बताए ।
उनले भने, ‘उद्योग वाणिज्य महासंघले लामो समयदेखि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानमा व्यवस्था भयो । त्यसको केही समयमा प्रत्यक्ष अध्यक्ष चयनको प्रणाली लागू हुनुपर्छ भनेर महासंघका जिल्ला उद्योग वाणिज्य संघहरुले आवाज उठाउँदै आएका थिए । पूर्व अध्यक्षको संयोजकत्वमा विधान संशोधनको लागि समितिहरू पनि बनेका थिए । मलाई के फिल भयो भने पूर्वअध्यक्षहरुको संयोजकत्वमा विधान संशोधन समिति बन्ने कार्यान्वयन वर्तमान कार्यसमितिले गर्नुपर्ने हुँदा कता–कता मेल नखाएको हिसाबले दुई वटा विधान संशोधन समिति बन्यो । तर विधान संशोधन हुन सकेन । ‘
उनले अध्यक्ष प्रत्यक्ष निर्वाचित हुँदा संस्थालाई राम्रो हुने ठानेर गएको निर्वाचनकै बेला विधान संशोधनको प्रतिबद्धता अनुसार कार्यसमितिले सर्वसम्मत पारित गरेको बताए । उनले यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछिको अर्को एक कार्यकालपछि लागू हुने बताए । अध्यक्ष ढकालले संशोधित नयाँ विधानमा वरिष्ठ उपाध्यक्ष दुई जना र हाल एक महिला उपाध्यक्ष रहेकामा थप एकजना महिला उपाध्यक्षको पनि व्यवस्था गरिएको बताए ।
उनले भने, ‘अध्यक्ष प्रत्येक्ष निर्वाचन गर्ने निर्णयसँगै अन्य नयाँ निर्णयहरू पनि गरेका छौँ । वरिष्ठ उपाध्यक्ष दुई जना बनाउने,महिला उपाध्यक्षको व्यवस्था गर्ने लगायतका निर्णयहरू सर्व सहमत रूपमा पारित गरेका छौँ । यसलाई विशेष साधारण सभामा लैजाने निर्णय भएको छ । महासंघको यो ऐतिहासिक निर्णय हो ।’
उनले महासंघको कार्यसमितिबाट संशोधित उक्त विधानलाई आगामी महासंघको विशेष साधारण सभामा पेश गरी पारित गर्ने बताए । अध्यक्ष ढकालले सबै उद्योग वाणिज्य महासंघ सबै सदस्यहरूको आकांक्षा महासंघको अध्यक्ष प्रत्यक्ष हुनुपर्छ भन्ने रहेको माग कार्यसमितिले पुरा गरेको बताए । उनले कार्य समितिमा विधानको दफा–दफामा छलफल गरेर सर्व सहमत निर्णय भएको बताए ।
‘वर्तमान अध्यक्ष र कार्यसमितिले नै विधान संशोधन गर्नुपर्छ भन्ने लागेर अध्यक्ष भएदेखि लागेको थिए । त्यही अनुसार सोमवार कार्यकारिणी समितिले सर्व सहमत रूपमा महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट गर्ने निर्णय गरेको छ । यसले सबै उद्योग वाणिज्य महासंघ सबै सदस्यहरूको महासंघको अध्यक्ष प्रत्यक्ष हुनुपर्छ भन्ने आकांक्षा थियो । कार्यकारिणी समितिमा विधानको दफा–दफामा छलफल गरेर सर्व सहमत निर्णय भएको हो ।’ उनले भने।
उनले महासंघको इतिहासमा सोमवारको निर्णय ऐतिहासिक भएको दाबी गरे । उनले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानले निर्वाचित भएपछि महासंघको काममा सक्रियता कम हुने आफैँले अनुभव गरेको बताए । उनले प्रत्यक्ष निर्वाचित अध्यक्ष हुँदा काम गर्नुपर्ने सक्रियता धेरै फरक हुने बताए ।
उनले भने ‘निर्णय भएसँगै उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष लगायत महासंघप्रति चासो राख्ने सबैले धेरै राम्रो काम भयो भन्नुभयो । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानले निर्वाचित भएपछि महासंघको काममा सक्रियता कम हुने देखिएको छ । अध्यक्षमा प्रत्येक्ष निर्वाचन भएर जाँदा काम गर्नुपर्ने सक्रियता धेरै फरक हुन्छ । तीनदेखि चार कार्यकाल हेरौँ । यसबाट महासंघका सदस्यहरूले वरिष्ठ उपाध्यक्षहरूबाट त्यस्तो अनुभव गरेको देखिन्छ । जिल्ला नगरका सदस्यहरूले वरिष्ठ उपाध्यक्ष हुँदा जिल्लाका मुद्धाहरुलाई सक्रियता नदिएको भन्ने भएकाले प्रत्येक्ष निर्वाचित अध्यक्ष हुनुपर्ने उहाँहरूको विशेष माग थियो ।’
उनले महासंघमा समानुपातिक र समावेशी बनाउने गरी विधान संशोधन गरेर अघि बढेको उल्लेख गरे । अध्यक्ष ढकालले जिल्ला नगरका अध्यक्षहरूले वरिष्ठ उपाध्यक्षलाई भोट हाल्ने तर भोट नहालेको व्यक्ति अध्यक्ष भएकाले विधान संशोधन गर्न माग गरेको बताए । उनले जिल्ला तहको नेतृत्व परिवर्तन भएपछि वरिष्ठ उपाध्यक्ष अध्यक्ष हुने व्यवस्था भएकाले विधान संशोधन गरी प्रत्यक्ष निर्वाचित अध्यक्षसँग जिल्ला नगर सदस्यहरूको माग रहेको बताए ।








