जावालाखेलको जरुँहिटी उत्खनन

ललितपुर । ललितपुर महानगरपालिकाले जावालाखेलमा रहेको ऐतिहासिक धारा (जरुँहिटी) उत्खनन गरेको छ ।
यसक्रममा महानगरले सो स्थानमा उद्यान निर्माण गर्नेक्रममा उत्खनन गर्दा भेटिएको धारालाई पुन निर्माण गरेर सञ्चालनमा समेत ल्याएको छ ।
महानगरपालिका र ताम्राकार समाजको सहकार्यमा परम्परागत रूपमा सो धारा पुनः निर्माण गरिएको हो । उक्त धारा चार सय वर्ष पुरानो रहेको ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकारले जानकारी दिए ।
उनको अनुसार हाल ललितपुर महानगरपालिका र समाजका सहकार्यमा निर्मित धारामा आरओ प्रविधिद्वारा प्रशोधित पिउने पानी स्वचालित रूपमा सञ्चालित छ ।
ललितपुर–४ का वडाध्यक्ष सन्तोष खड्काले ललितपुर–४ जावलाखेल मोसिख्योमा उद्यान निर्माण गर्नेक्रममा पुरातात्त्विक महत्त्व बोकेको ऐतिहासिक धाराको ढुङ्गा भेटिएपछि उत्खनन गरेर पुनः निर्माण गरिएको बताए ।
उनले भने, ‘उत्खनन गर्नेक्रममा भेटिएको धारा (जरुँहिटी) ताम्राकारसमाजसँग सम्बन्धित भएकाले आउने दिनहरुमासमाजले नै धाराको संरक्षण गर्नेछ ।’
महानगरले ऐतिहासिक सम्पदा संरक्षण र पुनः निर्माण गर्नेक्रममा धारा जरुँहिटीलाई पुनः स्थापना गरेकोमा आफू खुसी रहेको ललितपुर महानगरपालिका–४ जावलाखेलका स्थानीय रामकुमार पन्तले बताए ।
उनले भने, ‘पुरानो सम्पदालाई संरक्षण गर्नु राम्रो हो । जरुँहिटी निर्माण गरेपछि बाटो हिँड्नलाई तिर्खाएकोबेला प्रशोधित शुद्ध पानी पिउन सहज भएको छ ।’








