राजनीति सफा नभई मुलुक बन्दैन : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति सफा नभई देश नबन्ने बताएका छन् ।
शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उपप्रधानमन्त्री श्रेष्ठले राजनीति सफा नभई मुलुकमा विद्यमान कुनैपनि समस्या समाधान नहुने दाबी गरे । उनले मुलुकमा सहकारी क्षेत्रमा देखिएको समस्या पनि राजनीतिक दलहरूको संरक्षणको कारण भएको बताए ।
राजनीतिक दल र नेताहरूले सहकारीका सञ्चालकहरूलाई संरक्षण गर्न खोज्दा सहकारीमा समस्या देखिएको उपप्रधानमन्त्री श्रेष्ठको जिकिर थियो । उनले राजनीतिक दलहरूले आफ्नालाई संरक्षण गर्न प्रहरी प्रशासनलाई पनि त्यसको अनुसन्धान गर्न नदिएको बताए ।
उनले भने ‘नेपालको राजनीतिको समस्या म यहाँ चर्चा गर्न चाहन्न । त्यो राजनीति सफा नभईकन अरु समस्या समाधान हुनेवाला छैन । त्यसैले मैले बारम्बार भन्ने गरेको छु–राजनीति सफा नगरीकन यो देश बन्दैन भन्ने कुरा अत्यन्तै महत्वको साथ आत्मासात गर्नुपर्ने अहिलेको अवस्था हो । जतिसुकै गरे पनि राजनीतिले मुख्य भुमिका खेल्छ । सहकारीमा नै यस्तो समस्या किन आयो ? एउटा त अनुगमन भएन । दोस्रो ती सहकारीका सञ्चालक, मालिकहरू आ–आफ्नो पार्टी र नेताका छन । तिनलाई त रक्षा गर्नुपर्छ भनेर लागिने भइयो । अनि पुलिसहरूलाई पनि त्यही अनुसार मिलाउनुपर्ने होला । अनि अनुसन्धान गर्न पुलिस पठायो भने जसले अनुसन्धान गर्छु भन्छ, उसलाई फालिदिने काम हुन्छ । यहाँ त राम्रो काम गर्ने त टिक्न गाह्रो छ नि ।’
उपप्रधानमन्त्री श्रेष्ठले सहकारी समस्या समाधानका लागि भई रहेका प्रयासप्रति पनि असन्तुष्टि व्यक्त गरे ।








