कांग्रेस–एमाले सहकार्य

स्थिर सरकारका सुत्राधार डा.शेखर कोइराला

काठमाडौं । असार १७ गते राती संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले ऐतिहासिक सहमति गरे । दुई दलले संविधान संशोधन र राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेर देशमा स्थिर सरकार बनाउने प्रयासमा जुटे । लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता शेरबहादुर देउवा र केपी शर्मा ओलीले यस्तो निर्णय लिएका हुन् ।

देउवा–ओली सहकार्यमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले लामो समयदेखि प्रयास गरिरहेका थिए । ९ महिनाअघि आफ्नै पार्टीको निर्णयलाई चुनौती दिँदै नेता कोइरालाले कोशी प्रदेशबाट एमालेसँग सत्ता सहयात्रा सुरु गरिसकेका थिए । नेता कोइरालाको प्रयासमै कांग्रेसका ८ सांसदले गरेको विद्रोहमा एमालेले साथ दियो । एमालेको समर्थनमा कांग्रेसका केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भए । जति बेला कांग्रेसको संस्थागत निर्णय भने माओवादीका इन्द्र आङ्बोलाई कोशीको मुख्यमन्त्रीमा समर्थन गर्ने थियो ।

एमाले–कांग्रेस सहयात्राको ढोका खोलिदिएका कोइरालाको यो प्रयास लामो समयसम्म टिक्न नसके पनि दुई दलबिच हार्दिकताको वातावरण भने बनिरहेकै थियो । नौ महिना अघिको सहकार्य लामोसम्म जान नसके पनि नेता शेखरको चिन्तन र निरन्तरको प्रयास अनुरूप अन्ततः केन्द्रमै कांग्रेस र एमाले एकै ठाउँमा उभिएका छन् ।

जति बेला कांग्रेस–माओवादीको गठबन्धन थियो, त्यति बेला देखि नै नेता शेखर स्थिर सरकार र संविधान संशोधनको पक्षमा आवाज उठाउँदै आएका थिए । तर, कोशीबाट थालेको शेखरको पहलले भने कांग्रेस र माओवादीमा अविश्वास बढ्दै थियो । एमालेसँग भने कांग्रेसलाई नजिक बनाइरहेको थियो । नेता कोइराला पनि कांग्रेस र एमाले मिल्नुको विकल्प नरहेको बताइरहन्थे ।

कोशीमा नेता शेखरले चालेको चालपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए– ‘कांग्रेसको यो कदमलाई दण्डित गर्नु पर्नेमा पुरस्कृत गरियो ।’

स्थिर सरकारका नायक बनेका शेखर

नेता कोइराला लामो समयदेखि माओवादीसँगको गठबन्धन तोड्नु पर्ने सार्वजनिक कार्यक्रममै बताउँदै आएका थिए । उनले पहिल्यैदेखि कांग्रेस–एमाले मिल्नु पर्ने धारणा राख्दै आएका थिए । नेता कोइराला कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरौँ भनेर प्रस्ताव गरिरहन्थे । कोइरालाको धारणामा नेपाली कांग्रेसका अधिकांश नेता तथा सांसदहरू सहमत थिए ।

माओवादीबाट गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठले आफ्ना नेता कार्यकर्तालाई दु:ख दिइरहेको गुनासो पनि कांग्रेसमा उत्तिकै थियो । कांग्रेस सत्तामै हुँदा कांग्रेस सांसद डा.सुनिल शर्मा पक्राउ परे । तर अदालतले उनलाई हिरासतमा राख्न अनुमति नदिएपछि भोलिपल्ट छाडियो । त्यसपछि शर्मा पनि माओवादी प्रति थप आक्रामक रुपमा संसद र सार्वजनिक कार्यक्रममा प्रस्तुत भए । उनले प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीको भने खुलेरै प्रशंसा गरे ।

यी घटनाले माओवादी–कांग्रेसको दूरी बढ्दै थियो । फागुन १० को महासमिति बैठकले भने माओवादी र कांग्रेसको बाटो अलग गर्ने मुडमा पुर्‍यायो। महासमितिले माओवादी जनयुद्धलाई गरेको व्याख्या र आगामी कार्यदिशाले माओवादी कांग्रेससँग नरहने निचोडमा पुग्यो । माओवादी जनयुद्धले देश पछाडि परेको, आगामी निर्वाचनमा कांग्रेसले कसैसँग गठबन्धन नगर्ने र माओवादीसँग तत्कालका लागि भने गठबन्धन गर्न बाध्यात्मक अवस्था भएकाले निरन्तरता दिने महासमितिको निर्णय थियो ।

कांग्रेसको यो निर्णयपछि प्रचण्डले ओलीसँग संवाद थाले । ओलीलाई जसरी पनि त्यो गठबन्धन भत्काउनु थियो, प्रचण्डले भने जसरी नै सत्तामा जान तयार भए । सत्ताको सबैभन्दा ठूलो दल एमाले अर्थ मन्त्रालय र गृह मन्त्रालय पनि नलिई साथ दिन तयार भयो ।

एमालेको यो निर्णयले नै यो गठबन्धनको आयुलाई लिएर धेरैले अड्कल काटिसकेका थिए, यो गठबन्धन लामो जाँदैन । अनि, अर्को पनि अनुमान थियो यसको विकल्प पनि छैन । कांग्रेस एमाले एक हुन सक्दैनन् । दुई पार्टीले पालैपालो प्रचण्डलाई नै स्वीकार गरेर अगाडी बढ्छन् ।

तर सत्ताबाट बाहिरिँदै गर्दा कांग्रेसले प्रचण्डलाई धोखा दिएको भन्दै संसद्मै चुनौती दियो– ‘भोलि धोका खाने एमाले कांग्रेस मिले भने माओवादीको हालत के होला ?’ प्रचण्डले पनि यसको जवाफ उस्तै कडा फर्काए–‘कांग्रेसले ठूलो मूल्य चुकाउनपर्छ ।’ माहोल एमाले कांग्रेस नरम र प्रचण्डप्रति आक्रामक बन्दै गएको थियो । उता पछिल्लो समय सत्ता साझेदार एमाले र माओवादीको सम्बन्ध बिग्रँदो थियो ।

उसो त, प्रचण्ड शैलीले ओली खुसी थिएनन् । मन्त्रीहरूका कतिपय निर्णयले आफ्नै पार्टीलाई हानि गरिरहेको निष्कर्षमा एमाले थियो । बजेटपछि त एमालेले खुलेरै विरोध गर्‍यो । ओलीले आफ्ना सांसदलाई असन्तुष्टि संसदमा खुलेरै राख्न निर्देशन दिए ।

बजेटको भाषा र वितरण दुवैमा एमालेको असहमति थियो । अरु केही नियुक्तिमा पनि उनीहरूको कुरा मिलिरहेको थिएन । यसबिचमा सत्ता साझेदार एकीकृत समाजवादी महाधिवेशन उद्घाटन कार्यक्रममा अरु सबै दल जाँदा एमाले सहभागी भएन । बरु एमाले अध्यक्ष ओलीले देउवा सम्पत्तिलाई आफ्नै निवासमा बोलाएर भेटे । त्यसपछि गठबन्धनमा चिसो पस्यो । प्रचण्डले पनि यसको भेउ पाए । लगतै ओलीसँग बालुवाटारमा छलफल गरे । छलफलमा ओलीका गुनासा पोखिए ।

प्रचण्ड त्यसलाई सम्हालेर अगाडी बढ्न तयार पनि भए । ओली असन्तुष्टि पोखेर फर्किएकै मध्यराति कांग्रेससँगको सत्ता यात्राका लागि सहमतिमा हस्ताक्षर भयो । अब बन्ने सरकार नै धारा ६८ को २ नै दोहोरिने कि ६८ (३) मा जाने भन्ने अन्यौल छ । तर यसको सुरुवात भने कोसीमा ९ महिना पहिले शेखर समूहले गरेको विद्रोहबाटै भएको थियो । एमालेसँगको सहमतिपछि डा. कोइरालाले आफूले ८/९ महिना पहिले उठाएको कुरा अहिले आएर पूरा भएको बताएका छन् ।

२०७९ को निर्वाचनमा कांग्रेस माओवादीसहितको गठबन्धन मिलेर सहभागी भएका थिए । तर निर्वाचनको परिणामपछि माओवादीले कांग्रेसलाई धोखा दिँदै एमालेसँग मिलेर सरकार बनायो । लगतै राष्ट्रपतिको निर्वाचनमा माओवादी फेरि कांग्रेसतिरै फर्कियो । एमाले सत्ताबाट बाहिरियो । तर त्यो सहयात्रा पनि लामो जान सकेन । फेरि एमाले सत्तामा फर्कियो ।

अहिले एमालेले प्रचण्ड नेतृत्वको सरकार दोस्रो पटक छाड्न लागेको हो । डा. शेखरले भनेका छन्, ‘यसरी हरेक दिन स्थिर सरकार, डेढ वर्षमा चौथो पटक परिवर्तन हुन थालिसक्यो । कहिले एमाले कहिले कांग्रेस पालैपालो फेर्ने माओवादीलाई हामीले कहिलेसम्म बोकिरहने भन्ने लागेर मैले पहिल्यै भनेको थिएँ ।’

आफ्ना प्रत्येक अभिव्यक्ति र व्यवहारमा स्थिरता पहिला सर्त बनाएको कोइरालाको अठोट अब भने सार्थकता उन्मुख छ । उनी निर्वाचन प्रणालीमा समानुपातिक हटाउनुपर्ने पक्षमा छन् । यद्यपि समानुपातिक हटाउँदा संविधानको मर्मलाई मर्न दिनु नहुने उनको राय छ ।

महिला र दलितलाई महिलाको ३३ प्रतिशत र दलितको १४ प्रतिशत सिट रिजर्भ राख्नुपर्ने उनको तर्क त त्यसका लागि संविधान संशोधन आवश्यक पर्छ । त्यसको सुरुवात अब बन्ने एमाले–काँग्रेससहितको राष्ट्रिय सरकारले गर्ने अपेक्षा छ । अब एमालेसँग मिलेर संविधानमा निर्वाचन प्रणालीमा सुधार गर्नु पर्ने उनी बताउँछन् । तर संविधानका धेरै विषय चलाएमा भने बिग्रन सक्नेतर्फ सचेत हुनु पर्ने कोइरालाको धारणा छ ।

डा. शेखर जहिल्यै देशमा लागि सोच्ने नेता हुन् । उनको व्यक्तित्व र परिचयमा अहिलेसम्म भ्रष्टाचार, कमिसन र अनियमितताको गन्ध पाइएको छैन । उनी पार्टीभित्र सधैँ निष्ठा, आदर्श, विचार, र इमानको लडाई लड्ने नेताका रूपमा चिनिँदै आएका छन् । आज कुनै घटना भएपछि डा. शेखरले के बोले भनेर देशले खोज्न थालेको छ । त्यसो त उनी पार्टीको हस्तक्षेपकारी नेतृत्वमा छैनन् । तर नेपाली काँग्रेसबाट कतै हस्तक्षेप गर्नुगर्नुपर्‍यो भने डा. शेखर नभई सम्भव हुँदैन ।

पार्टीको विचार, सिद्धान्त र आदर्शका साथ जीवन्त राख्ने हो भने डा. शेखर अहिलेको भन्दा खरो र आक्रामक भएर उत्रनुपर्छ । उनीसित कोइराला वंशको लिगेसी त छँदै छ, समसामयिक राजनीतिका कुनै पनि विषयमा स्पष्ट दृष्टिकोण र विचार दिन सक्ने खुबी पनि छ । यही कारण नेपालको समाज उनीसित बढी आशावादी भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *