अस्पतालहरूको सुधार गर्नु नै मेरो मुख्य लक्ष्य हो : प्रदीप यादव


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालहरूको सुधार नै आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन् ।
सोमवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् । उनले स्वास्थ्य संस्थाको सुधारका लागि मन्त्रालय रातदिन काम गरिरहेको बताए । उनले राजनीति अस्थिर रहेकाले सबै ठूलो काम गर्छु भनेर प्रतिबद्धता जनाउन नसकिने बताए ।
उनले अहिले भएका संरचनालाई अझ व्यवस्थित गर्नका लागि आफू लागिपरेको बताए । उनले अस्पताल सुधारका लागि मन्त्रालयका अतिरिक्त दुई जना सचिवको नेतृत्वमा काम भइरहेको बताए । उनले स्वास्थ्य क्षेत्रमा जनशक्ति कम रहेको भन्दै करारमा लिएर भएपनि काम गराउने प्रतिबद्धता जनाए । उनले मन्त्रालय मातहतमा रहेका अस्पतालको सुधारका लागि विभिन्न कार्यक्रमसहित अघि बढेको बताए ।
उनले बीमामा धेरै महाभारत चलिरहेको बताए । उनले स्वास्थ्य बीमा स्वास्थ्य मन्त्रालयअन्तर्गत नरहेको भन्दै राज्यले बीमालाई स्वायत्त गरिदिएको बताए । आफू अग्रसर भएर बीमा बोर्डका अध्यक्षसँग कुरा गरेको र छलफल गरेर बीमामा भएका बेथितिको सुधार गर्ने बताए । सबै नागरिकलाई बीमामा समेट्न आफूहरू लाग्ने बताए ।
उनले भने ‘अस्पतालहरूको सुधार नै मेरो मुख्य लक्ष्य हो । सुधार कसरी गर्ने त्यसमै म आएदेखि नै लागिपरेको छु । सुधार गर्नको निमित्त अघि बढेका छौँ । राजनीति स्थिर छैन, अस्थिरता छ । जहाँ अस्थिरता हुन्छ, त्यहाँ ठूलो ठूलो क्रान्तिकारी कुरा गरेर सम्भव पनि हुँदैन । त्यसकारण जुन हाम्रो अवस्था छ, त्यसलाई कसरी सुधार गर्ने, त्यसमा हामीले अघि बढेर काम गरिरहेका छौँ । सबै कुरा बुझेका छैनौँ तर अधिकतम कुरा बुझेर काम गरिरहेका छौँ । अस्पताल सुधारका लागि मन्त्रालयका अतिरिक्त दुई जना सचिवज्युहरुको नेतृत्वमा हामीले विभिन्न शीर्षकमा खटाएका छौँ । जुन एउटा रिपोर्ट आइसक्यो ।’
मन्त्री यादवले स्वास्थ्य क्षेत्रको सुधारका लागि मन्त्रालय लागिरहेको बताए ।
