तपस्वी रामबहादुर बमजन यौन दुराचारमा दोषी ठहर
काठमाडौं । तपस्वी रामबहादुर बमजन बाल यौन दुराचारमा दोषी ठहर भएका छन् ।
जिल्ला अदालत सर्लाहीका जिल्ला न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बमजनलाई बाल यौन दुराचारमा दोषी ठहर गरेको हो ।
दोषी ठहर गरे पनि सजाय निर्धारण भने गरिएको छैन । उनलाई के कस्तो सजाय गर्ने भन्नेबारे अर्को पेसी तोकिने जिल्ला अदालतले जनाएको छ ।
बमजनलाई केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले गत पुस २४ गते काठमाडौंबाट पक्राउ गरेको थियो ।
आफ्ना अनुयायीहरूमाथि बलात्कार र हत्या हिंसा गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो । यति मात्रै होइन, बमजनमाथि विभिन्न जिल्लाका केही मानिसलाई बेपत्ता पारेको आरोप समेत छ ।
लामो समयदेखि फरार रहेका बमजनलाई पक्राउ गर्न प्रहरीलाई लामो समय लाग्यो । पुस २०७६ मा सिन्धुपाल्चोकको इन्द्रावती–६ बाँडे गाउँ तथा असार २०७७ मा कमलामाई नगरपालिका ९ पैरेको आश्रममा छापा समेत हानेको थियो । तर उनी फरार रहँदै आएका थिए ।
अन्ततः उनलाई प्रहरी पक्राउ गरि मुद्दा चलाएर अनुसन्धान गरेको थियो । जिल्ला अदालतले पनि उनलाई दोषी ठहर गर्यो ।