नेपाली अलैँची विश्व बजारमा निर्यात गर्न सरकारले पहल गरिरहेको छ : कृषिमन्त्री

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले नेपालमा उत्पादित अलैँचीलाई विश्व बजारमा निर्यातको लागि सरकारले पहल गरिरहेको बताएकी छन् ।
सोमवार ललितपुरमा आयोजित ‘अलैँचीबारे वर्तमान स्थिति अवसर र चुनौती’ विषय राष्ट्रिय सम्मेलनमा बोल्दै कृषिमन्त्री साहले यस्तो बताएकी हुन् । उनले विश्व बजारमा नेपाली अलैँचीको माग बढ्दै गएकाले जीटुजीमार्फत निर्यात गर्ने गरी समन्वय र छलफल भइरहेको बताइन् । उनले अलैँची विश्व बजारमा निर्यातको लागि नीतिगत रुपमा सहजिकरण गर्नको लागि पुराना कानुनलाई संशोधन गर्ने तयारमा सरकार रहेको बताइन् ।
मन्त्री साहले अलैँची निर्यातको लागि नीतिगत र राजश्वको विषयलाई नीतिगत रुपमा सुधार गर्न जरुरी रहेको बताइन् । उनले कृषिमा बैंकको कर्जा र सरकारले लिने अनुदान कृषि गर्न चाहने किसानहरूको हातमा पुग्न नसकेको स्वीकार गरिन् । उनले कृषिमा राम्रो काम गर्नेहरू पुँजीको अभावमा काम गरिरहने तर काम गर्न नचाहने काम चोरहरू फाइल लिएर हिडेकाहरु अनुदान लिएर दुरुपयोग गरेको बताइन् ।
उनले समृद्धि मुलुक बनाउने र जनतालाई सुखी बनाउने सपना लिएर हिँडे पनि यस्ता विकृतिबाट देश समृद्ध हुन नसक्ने बताइन् । उनले सरकारले अब यस्ता विकृति र गलत काम गर्नेको पहिचान गरी कारबाही गर्ने बताइन् । उनले कृषि क्षेत्रमा रहेको विकृति मन्त्री एकलैले हटाउन सक्ने भन्दै सबैको साथ सहयोग आवश्यक रहेको बताइन् । उनले प्रधानमन्त्री कृषि परियोजनामार्फत सुपर जोनको हिसाबले अलैँची खेतीलाई बढवा दिएर निर्यातमा जोड दिन आवश्यक रहेको बताइन् ।
उनले कृषि मन्त्रालयलाई दोस्रो प्राथमिकताका साथ बजेट तर्जुमा गर्नुपर्ने भएपनि सबैभन्दा कम गरिएको गुनासो बताइन् । उनले सबैभन्दा महत्वपूर्ण मन्त्रालय हुँदाहुँदै पनि बजेटको अभाव रहेको बताइन् ।








