मेलम्चीको पानी बन्द गर्ने मिति तोकेका छैनौँ, बाढी आयो भने तत्काल बन्द गर्छौं : निर्देशक लामिछाने

काठमाडौँ । मनसुन सक्रिय नभएसम्मका लागि मेलम्चीको पानी काठमाडौं पठाइने भएको छ ।

मेलम्ची खानेपानी विकास समितिले पानी धमिलो नहुन्जेल काठमाडौंमा पानी पठाउने काम नरोकिने बताएको हो । मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेले मनसुन सुरु भएसँगै मेलम्ची खोलामा पानीको बहाव बढ्ने र खानेपानी पथान्तरण गर्ने संरचनामा जोखिम हुने सम्भावनालाई मध्यनजर गरेर काठमाडौं पानी पठाइने बताए ।

उनले मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडबक्समा पानी थिग्र्याउने संरचना नभएको र नदीमा धमिलो पानी आउने बित्तिकै हेडबक्स बन्द गर्नुपर्ने अवस्था रहेको बताए । विज्ञ र मन्त्रालयले जेठ ३१ गतेबाट जुनसुकै समयमा पानी बन्द गर्न सुझाव आएको भन्दै आयोजनाले तत्कालको लागि पानी बन्द नगरी निरन्तर पानी पठाउने काम गरिरहेको बताए ।

तत्काल मनसुन सक्रिय नभएको र नदीमा बाढी नआएकाले तत्काल हेडबक्स बन्द नगरिने कार्यकारी निर्देशक लामिछानेले बताए । कार्यकारी निर्देशक लामिछानेले मेलम्ची नदीमा धमिलो पानी नआएसम्म पानी पथान्तरण जारी रहने बताए । सबै सावधानीका उपायहरू अपनाएर आवश्यक जनशक्ति र उपकरण समेत तयारी अवस्थामा राखेको बताए । उनले मेलम्चीको पानी बन्द गर्ने मिति नतोकिएको बताए । उनले अहिले रहेको मेलम्चीको हेडबक्सबाट काठमाडौंमा १२ महिना पानी सञ्चालन गर्नसक्ने अवस्था नरहेको बताए ।

उनले भने ‘बर्खा लागेपछि मनसुन सक्रिय हुनुभन्दा एक हप्ता अगाडि मेलम्चीको टनेल बन्द गर्न धेरै विज्ञहरूको जेठ २८ गतेबाट बन्द गर्नुपर्छ भन्ने सुझाव प्राप्त भइरहेको थियो । त्यही अनुसार समाचारहरू पनि आइरहेका छन् । तर मेलम्ची खानेपानी विकास समिति मनसुन सक्रिय नभएसम्म पानी सञ्चालन गर्ने तयारीका साथ सकेका छौं । जेठ ३१ गतेबाट मनसुन सक्रिय भएपछि थप निगरानी बढायौँ । मेलम्ची नदिमा जबसम्म पानी धमिलो आउँदैन र माथि पहिरो जाँदैन तबसम्म पानी सञ्चालन गरी राख्ने योजना बनायौँ । त्यसको लागि सबै सावधानीका उपायहरू अपनाएर बसेका छौं ।

आज शुक्रवारदेखि पानी बन्द गर्ने कुराहरू आइरहेका छन् । तर बन्द हुने सम्भावना जुनसुकै बेला पनि छ । जेठ ३१ गतेपछि पानी धमिलो र बाढी आएर टनेललाई क्षेती पुग्ने अवस्था आयो भने जुनसुकै बेला पनि टनेल बन्द गर्नसक्ने गरी मन्त्रालयबाट स्वीकृत लिएर बसेका छौं । आज बन्द हुने भने पनि आज पनि टनेलबाट सुन्दरीजलमा पानी पथान्तरण गरिरहेका छौं । आजसम्मको अवस्था हेर्दा जतिबेला ठूलो पानी पर्छ र बाढी आउँछ त्यतिबेला मात्रै पानी बन्द गछौं । मेलम्चीको पानी बन्द गर्ने मिति तोकिएको छैन । हामी जति सकिन्छ त्यति बढी समय काठमाडौंमा पानी पथान्तरण गर्छौं भनेर लागि रहेका छौं । त्यसको लागि तयारी अवस्थामा मेनपावरहरु राखिसकेका छौं । यस्तो हुँदा पानी झ्प्प बन्द गर्नुपर्ने अवस्था आउन सक्छ । पानी आएर बाढी आयो भने तत्काल टनेल बन्द गर्छौं ।

मेलम्चीको मुख्य गेट बन्द गर्न १५ मिनेट समय लाग्छ । अल्टरनेट टनेललाई बन्द गर्न २ घण्टा लाग्छ । खोला ठूलो बढेको अवस्थामा बन्द गर्न जान नसक्ने अवस्था छ । त्यसले गर्दा पानी बढ्न थालेसँगै पानी बन्द गर्नुपर्छ । आजसम्म पानी सञ्चालन गरिरहेका छौं । कुन मितिसम्म सञ्चालन गर्ने भन्ने मौसममा भरपर्छ । मेलम्चीको माथिल्लो भागमा बाढी र पहिरो जाँदैन तबसम्म एक दुई घण्टा भए पनि पानी सञ्चालन गर्ने तयारीमा छौं ।

मेलम्चीको बाढीको कारण अहिले नदिको पानी सिधै टनेलमा हाल्नु पर्ने अवस्था छ । त्यसैले खोलामा धमिलो पानी आउँदा टनेलमा धमिलो पानी हाल्दा टनेल बचाउन आवश्यक छ । टनेल ड्यामेज भयो भने हाम्रो सपना नै तुइने अवस्था हुन्छ । याङ्ग्री र लार्केको पानी पनि यही टनेलमा थप्दै छौ । मेलम्ची, आङ्ग्री र लार्केको गरेर ५१ करोड लिटर पानी ल्याउने टनेलमा ड्यामेज हुने हिसाबले सावधानीका साथ वर्षादतको लेदो पानी रोक्नेछौँ । अहिले रहेको मेलम्चीको हेडबक्सबाट काठमाडौंमा १२ महिना पानी सञ्चालन गर्नसक्ने अवस्था छैन ।’

मनसुन सक्रिय भएर मेलम्ची नदीमा बाढी आए पानी बन्द हुने र मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले मेलम्चीको पानी उपभोग गर्न पाउने कार्यकारी निर्देशक लामिछाने बताए । उनले मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेडबक्समा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि आयोजनाले हेडबक्स बन्द गर्ने बताए । आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ ।

उनले मेलम्चीको पानी बन्द भएपनि उपत्यकावासीलाई पानीको अभाव भने हुन नदिने बताए । उनले मनसुन सक्रिय भएसँगै पानीका स्रोतहरू पानीको बहाव बढ्ने तथा इनारमा समेत पानी बढ्ने बताए ।

उनले मेलम्ची खानेपानी आयोजना बन्द रहने अवधिसम्म बागमती सुधार आयोजनाअन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्ने तयारी रहेको बताए । उनले मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानीको आपूर्ति व्यवस्थापनलाई सहज गर्न धाप ड्यामबाट दैनिक चार करोड लिटर पानी वितरण गर्ने तयारी भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *