चोरी गरेको अभियोगमा काठमाडौँका विभिन्न स्थानबाट ४ जना पक्राउ

काठमाडौँ । चोरीमा संलग्न रहेको अभियोगमा चार जनालाई काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बुधवार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बैतडी डोगडा केदार गाउँपालिका–२ घर भई काठमाडौं कलंकी बस्ने २३ वर्षीय निराजन महरा, भारत हावडा घर भई काठमाडौं संकटा बस्ने २८ वर्षीय सुजित कर, भारत मोतिहारी घर भई काठमाडौं ओमवहाल बस्ने ३० वर्षीय सेफ अलि आलम र
काभ्रे भुम्लु गाउँपालिका–३ घर भई काठमाडौं कलंकी बस्ने २२ वर्षीया मोनिका लामा रहेका छन् ।

टोखा नगरपालिका–७ बसुन्धरा नमुनाटोल डेरा गरी बस्ने स्याङ्जा घर भएकी ४८ वर्षीया पुष्पा भण्डारी उपाध्यायको कोठाबाट सुनका विभिन्न गरगहना तथा नगद गरी २५ लाख ४ हजार ९ सय रुपैयाँ बराबरको धनमाल गत जेठ २७ गते दिउँसो चोरी भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

साथै अनुसन्धानको क्रममा जेठ २७ गते काठमाडौं कलंकी डेरा गरी बस्ने मनिष पौडेलको कोठाबाट ल्याप्टप तथा महत्वपूर्ण कागजपत्रहरू, काठमाडौं महाराजगंजस्थित विशेष प्याकुरेलको घरबाट नगद, ल्याप्टप तथा अन्य कागजपत्रहरू र असार २ गते दिउँसो काठमाडौं नागार्जुन स्युचाटार बस्ने आकाश खड्काको डेरा कोठाबाट ल्याप्टप तथा अन्य धनमाल समेत चोरी भएको खुल्न आएको छ ।

उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *