गठबन्धनमा खटपटको संकेत, ओली नै असन्तुष्ट

काठमाडौं । नयाँ गठबन्धनपछि बनेको सरकारले एक सय दिनपार गर्दैगर्दा शीर्ष नेताहरुबीच खटपटका संकेतहरु देखिन थालेका छन् । सरकारको नेतृत्व गरिरहेको दल माओवादी केन्द्र र नेकपा एमाले सम्मिलित सत्तारूढ गठबन्धनमा खटपटका संकेत देखिएका हुन् ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नेतृत्वको गठबन्धन टुटेर गत फागुन २१ गते माओवादीरएमाले नेतृत्वको वर्तमान गठबन्धन बनेको थियो । गठबन्धन बनेको तीन महिना पूरा भएसँगै आबद्ध दलहरू बीचको आन्तरिक मनमुटाव छताछुल्ल हुन थालेको छ । वर्तमान सत्ता गठबन्धनमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएर गएको अशोक राई नेतृत्वको जसपा आबद्ध छन् ।

हुन त वर्तमान गठबन्धन बनेदेखि नै आबद्ध दलहरूबीच मनमुटाव सुरु भएको थियो । पछिल्लो दिनहरूमा आन्तरिक मतभेद थप बढ्न थालेको छ । आशंका र असन्तुष्टिका बाबजुत पनि सत्ताबाट बाहिरिनुपर्ने भयका कारण जेनतेन अघि बढिरहेको गठबन्धन भित्रको मतभेद दिन प्रतिदिन गाढा बन्दै गएको छ ।

पछिल्ला दिनहरूमा गठबन्धन निर्माण गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका नेताहरूबाटै गठबन्धन सरकारप्रति आक्रोशपूर्ण टिप्पणी सुरु भएको छ । गठबन्धनमा आबद्ध दलहरू नेकपा एमाले, रास्वपा र नेकपा एसमा सरकार प्रतिको असन्तुष्टिको ग्राफ उकालो यात्रामा छ । एमालेले त ‘देश विकासका लागि सरकारमा गएका हौँ, त्यही नभएपछि कसरी सन्तुष्ट हुने ?’ भन्दै प्रश्न गरेको छ ।

सत्तारूढ दलको मुख्य घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष जनाउने ठाउँ नरहेको टिप्पणी गरे । ‘अगाडि बढ्ने बाटो भनेको बजेट हो । त्यसैले बजेटको सन्दर्भमा एक दुई जनाको मुख हेरेर कति ठीक कति बेठीक त्यसमा अलि छलफल गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘एक दुई जनाको मुख हेरेर अनि हामी सरकारमा छौँ भनेर, गरिबीतिर देश गए पनि के भयो र ? हामी सरकारमा छँदै छौँ भनेर हुन्छ ? हामी सरकारमा किन गएको भने देशलाई गरिबीबाट रोकेर विकासतर्फ अघि बढाउन हामी सरकारमा गएको हो । त्यही चिज हुँदैन भने सन्तोष कसरी मान्ने ?’

वर्तमान गठबन्धन र सरकारलाई पूरापूर समर्थन गरिरहेको रास्वपाभित्र समेत पछिल्ला दिनहरूमा सरकारको कार्यशैलीलाई लिएर प्रश्न उठ्न थालेको छ । कतिसम्म कि सरकारमै सहभागी रास्वपाका नेताहरू सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्नुपर्ने बेला आएको भन्न थालेका छन् ।

खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकार पुरानै कर्मकाण्डी शैलीमा चलेको टिप्पणी गरे । ‘अहिले हामी सरकारमा छौँ । सत्ता अहिले पनि पुरानै शैलीमा कर्मकाण्डी तरिकाले चलिरहेको छ । उपलब्धि नहुने गरी हामी दुई धारे तरबारको बीचमा चलिरहेका छौँ,’ उनले भने, ‘केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत ढंगले कुनै सम्झौता गर्नुपर्‍यो भनेदेखि त्यो दिनै रास्वपा सरकारबाट बाहिर आउन अहिले नै तयार छ । हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ । त्यो तयार गरेरै बोकेरै हामी हिँडेका छौँ । सरकारलाई दिएको समर्थनको बारेमा एकचोटि समीक्षा गर्नुपर्ने बेला पनि छ ।’

नेकपा एस पनि एमाले, माओवादी र रास्वपा सम्मिलित सत्ता गठबन्धनको मुख्य साझेदार दल हो । तर, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको बोली र व्यवहार भने कहिले सत्तापक्ष जस्तो कहिले प्रतिपक्ष जस्तो देखिन्छ ।

नेकपा एसका अध्यक्ष नेपाल घरी सत्ता पक्षको बैठकमा पुग्नुहुन्छ, घरी विपक्षीको बैठकमा । यही कारण सत्ता गठबन्धनभित्र उहाँप्रति शंका कायमै छ । त्यसैले प्रधानमन्त्री प्रचण्डले नै महत्वपूर्ण निर्णय लिँदा नेपालसँग सल्लाहसमेत नगरेको पाइन्छ । जसपा विभाजनका बेला होस् वा गठबन्धनका अन्य काममा अध्यक्ष नेपालले सार्वजनिक रूपमै असन्तुष्टिसमेत राख्दैआएका छन् । सत्ता गठबन्धनमा आफू र आफ्नो पार्टीलाई सम्मानजनक व्यवहार नभएको उनको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 7 =