ललितपुर महानगरका मेयर महर्जनको प्रशंसा नगरी बस्न सक्दिन : राप्रपा सांसद कार्की

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको प्रशंसा गरेकी छन् ।
उनले सो महानगरपालिकाका मेयर महर्जन र उपमेयर मञ्जली शाक्य बज्राचार्यले मिलेर धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गरेकी हुन् । सांसद कार्कीले महर्जन काँग्रेसबाट निर्वाचित मेयर र शाक्य एमालेबाट निर्वाचित उपमेयर भएपनि उनीहरुले मिलेर धेरै राम्रो काम गरेको देख्दा आफूले प्रशंसा नगर्दा अन्याय हुने प्रतिक्रिया पनि दिइन् ।
उनले मेयर महर्जन र उपमेयर शाक्यले खानेपानीको मुहानको खोजी गरेर ललितपुरमा खानेपानीको अभाव हुन नदिने कामलाई पनि योजनाबद्ध ढंगले अघि बढाएको बताइन् । सांसद कार्कीले बागमती नदी खुला ढलको रुपमा परिणत भएको उल्लेख गर्दै त्यसको सफाइमा विशेष ध्यान दिन पनि सरकारलाई सुझाव दिइन् ।
उनले भनिन् ‘हाम्रो ललितपुर जिल्लाका मेयरको कुरा गर्दा हुन त उहाँ काँग्रेसको मेयर हो चिरिबाबु महर्जन । र उहाँको उपमेयर पनि तपाई कै पार्टीको छ । उहाँहरू दुइटाको कम्बिनेशलले यति राम्रो काम गरेको छ कि म प्रशंसा नगरी रहन सक्दिन । यदि मैले यहाँ उभिएर चिरिबाबु महर्जनको र उपमेयरको प्रशंसा गरिन भने उहाँहरूप्रति अन्याय हुन्छ । हामीले विरोध पनि गर्न सक्नुपर्छ, प्रशंसा पनि गर्न सक्नु पर्छ । उहाँहरुले धेरै राम्रो काम गर्नु भएको छ । जुन वनसँग पनि सम्बन्धित छ । त्यहाँ उहाँहरुले मुहानहरूको खोजी गर्नु भएको छ । गोदावरी नगरपालिकामा ५/६ वटा मुहान छ । त्यहाँ डिपिआर भइसकेको छ । त्यसपछि दक्षिणकालीमा पनि ३/४ वटा मुहान छ । दक्षिणकालीको सिस्नेरी खानेपानी मुहानमा डिपिआर भएको छ । यो सबैभन्दा ठूलो कुरा हो । यसमा उपत्यका खानेपानीले लगानी गरिराखेको छ । ’
सांसद कार्कीले ओर्खु–बालकुमारी ललितपुरले ढल प्रशोधनको काम सुरु गरेपनि ठेकदारले पैसा खाएर भागेको भन्दै उनीमाथि कारबाही गर्न पनि सरकारसँग माग गरिन् ।








