विदेश लगानी ल्याउने लगानी ‘लगानी बोर्ड’लाई तत्काल खारेज गर्नुपर्छ : प्रेम सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले लगानी बोर्ड तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले सो कुरा बताएका हुन् ।

विदेशी पुँजीले देशको विकास नभई उपनिवेश हुने भएकाले पनि विदेशी लगानी भित्र्याउने प्रयोजनका लागि गठित प्रधानमन्त्री नेतृत्वको सो बोर्ड तत्काल खारेज गर्नुपर्ने उनको तर्क थियो । सांसद सुवालले काठमाडौं उपत्यका भित्र रहेका सबै औद्योगिक क्षेत्र हटाउन पनि सरकारलाई दबाब दिए ।

काठमाडौं उपत्यकाको वातावरण बिग्रन नदिन पनि ती औद्योगिक क्षेत्रहरू यहाँबाट हटाउनुपर्ने उनको भनाई थियो । सरकारले जग्गा र भौतिक पूर्वाधार निर्माण गरी औद्योगिक क्षेत्र स्थापना गर्ने र विदेशी लगानी त्यहाँ लगाउने भनेको गाईमारी बाघ पोस्ने खालको नीति भएकाले त्यो ठिक नभएको बताए । हाम्रो जग्गा, हाम्रो श्रम, अनि विदेशी पुँजीको रजाई गर्ने खालको सरकारको नीति रहेकाले त्यसमा सहमत हुन नसकिने पनि सांसद सुवालले बताए ।

उनले भने ‘विदेशी पुँजी ल्याएर देश विकास हुँदैन । बरु उपनिवेश हुन्छ । भारतमा व्यापार गर्न आएको इष्ट इन्डिया कम्पनीले भारतलाई २१० वर्ष उपनिवेश बनाएको थियो । त्यसकारण विदेश लगानी ल्याउने लगानी बोर्डलाई तत्काल खारेज गर्नुपर्छ । सरकारले जग्गा र भौतिक पूर्वाधार निर्माण गरी औद्योगिक क्षेत्र स्थापना गर्ने र विदेशी लगानी त्यहाँ लगाउने भनेको गाईमारी बाघ पोस्ने हाम्रो जग्गा, हाम्रो श्रम, अनि विदेशी पुँजीको रजाई । यो ठिक छैन । काठमाडौँ उपत्यकामा रहेका औद्योगिक क्षेत्रलाई यहाँबाट हटाउनु पर्छ । यहाँको प्रदूषण कम गर्न पनि यो आवश्यक छ ।

सांसद सुवालले नेपालको स्रोत, साधन परिचालन हुनेगरी औद्योगिक क्षेत्रको कामलाई अघि बढाउन पनि सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *